- समृद्धिका लागि संकल्प यात्रा : झापामा तयारी सुरु
- बिर्तामोडबाट मोटरसाइकल चोर्ने एक जना पक्राउ
- उर्लावारी आगलागी घटना : ज्यान गुमाउनेको संख्या पाँच पुग्यो
- राप्रपाका सहसचिव अधिकारीको निधन
- मेचीनगरको देवीगञ्जकी १४ वर्षीया बालिका वेपत्ता, खोजीका लागि परिवारको हार गुहार
बिर्तामोड–झापाको मेचीनगर–७ पिपलचोकमा आगलागीपछि ग्यास सिलिण्डर पड्किएर घाइते भएकामध्ये एक जनाको मृत्यु भएको छ । स्थानीय केशव पाठकको घरमा बुधबार राति आगो लागेको थियो ।
आगो निभाउने क्रममा सिलिन्डर पड्किदा १३ जना घाइते भएका थिए । घाइतेमध्ये छिमेकी मेचीनगर–८ का ४५ वर्षीय सारद राजवंशीको मृत्यु भएको इलाका प्रहरी कार्यालय काँकडभिट्टाले जनाएको छ । राजवंशीको उपचारका क्रममा धुलाबारीस्थित एञ्जल मेडिकल हलमा मृत्यु भएको हो ।
घरमा कोही नभएको अवस्थामा विद्युत् सर्ट भएर आगो लागेको प्रारम्भिक अनुसन्धानमा देखिएको डीएसपी सुनिल दाहालले बताए । टीनको छानो, चित्राको बेरा भएको पाठकको एकतले कच्ची घरमा रामेछापका कुमार पाण्डे भाडामा बस्दै आएका थिए ।
आगो निभाउने क्रममा घरमा रहेका दुई वटा ग्यास सिलिन्डर पड्किएका हुन् । आगलागीमा आठ वर्षीया बालिका सुशीला अधिकारीसहित १२ जना घाइतेको उपचार भइरहेको छ ।
आगलागीमा मेचीनगर–७ का ४० वर्षीय लेखनाथ तिम्सिना, वर्ष ३२ का दीपेन्द्र कार्की, वर्ष ३८ का चन्दन गौतम, वर्ष ४० का सुभलाल राजवंशी, वर्ष ३५ का बिनोद गिरी, वर्ष २८ का सन्देश बोहरा, वर्ष ४० का भवानीशंकर न्यौपाने, वर्ष ३४ का निर्मल शर्मा र वर्ष ३५ का नवराज श्रेष्ठ घाइते भएका छन ।
आगलागीमा मेचीनगर–८ का ३४ वर्षीय हरि विक र बिर्तामोड नगरपालिका–९ का २९ वर्षीय गोबिन्द राजवंशी पनि घाइते भएको प्रहरीले जनाएको छ । घाइतेमध्ये न्यौपानेको बिर्तासिटी अस्पताल बिर्तामोड र अरु सबैको बीएण्डसी अस्पताल बिर्तामोडमा उपचार भइरहेको डीएसपी दाहालले जानकारी दिए ।