बुधबारे– झापाको बुधबारेमा स्कूल बसको ठक्करबाट आज अपरान्ह एकजना बालिकाको मृत्यु भएको छ । पाँचथरकाे हिलिहाङ-६ घर भई बुधबारेमा बस्दै आएकी आठ वर्षीया बालिका साेमिया तामाङको मृत्यु भएको प्रहरीले पुष्टि गरेको हो ।
पश्चिमबाट पूर्वतर्फ जाँदै गरेकोे ना ४ ख १३१३ नम्बरको बसको ठक्करबाट तामाङको मृत्यु भएको जिल्ला ट्राफिक प्रहरी कार्यालय झापाले जनाएको छ ।
ठक्कर दिने बस शान्ति आदर्श माध्यमिक विद्यालय शान्तिनगरको हाे । बसको ठक्करबाट घाइते भएकी बालिकालाई उपचारका लागि बिर्तामोड लगिएको थियो ।
उपचारका क्रममा बालिकाको मृत्यु भएको हो । घटनापछि प्रहरीले बस चालक इलाम राेङ गाउँपालिका घर भएका ५२ वर्षीय प्रेम कुमार राईलाई नियन्त्रणमा लिएको छ ।