१५ बैशाख २०८१, शनिबार | Sat Apr 27 2024

वरिष्ठ गीतकार शिवशंकर थापालाई ५१ हजार भारतीय रुपैयाँ राशिको पुरस्कार



बिर्तामोड-वरिष्ठ गीतकार शिवशंकर थापालाई ५१ हजार भारतीय रुपैयाँ राशिको पुरस्कार प्रदान गरिने भएको छ । माया तथा सद्भाव फाउण्डेसनले गीतकार थापालाई उक्त राशिको पुरस्कार दिन लागिएको घोषणा गरेको हो ।

फाउण्डेसनका अध्यक्ष कविता आलेका अनुसार नेपाली आधुनिक संगीतका शिखर पुरुष अम्वर गुरुङको सालिक अनावरणको अवसरमा कात्तिक १९ गते गीतकार थापालाई उक्त पुरस्कार प्रदान गरिनेछ । गीतकार थापा झापाको बिर्तामोडका स्थायी बासिन्दा हुन् ।

लामो समयदेखि गीत, संगीत र साहित्य सिर्जनामा सक्रिय थापा साहित्य चौतारी झापाका संस्थापक अध्यक्ष हुन् । सनललाइट संगीत विद्यालयका संस्थापक अध्यक्ष समेत रहेका थापा सिर्जनशील प्रतिभाका धनी छन् ।

भन्थिन् मेरी उनी मेरो पाइला नटेकी दिनु, विधवाले सिउँदोको रहर, मेरो रहर ब्युझिएर, तिमी आकाशको जून भयौ जस्ता कालजयी गीतहरूका सर्जक थापा छिन्नलता पुरस्कारद्वारा सम्मानित भइसकेका विशिष्ट प्रतिभा हुन् ।

गीत लेखन र साहित्यिक क्षेत्रमा गरेको अतुलनीय योगदानको उच्च कदर गर्दै गीतकार थापालाई सम्मान गर्न लागिएको हो । मिरिकमा आयोजना हुने विशेष समारोहका बीच थापालाई पुरस्कार र ताम्रपत्र प्रदान गरिने फाउण्डेसनले जनाएको छ ।

प्रकाशित मिति : १३ कार्तिक २०८०, सोमबार ००:००  ८ : ३४ बजे