१ भाद्र २०८३, सोमबार | Mon Aug 17 2026

कोशी सरकारमा माओवादीको इन्ट्री



विराटनगर– नेपाली कम्युनिस्ट पार्टीले कोशी प्रदेश सरकारमा सहभागी हुने चार मन्त्री र एक राज्यमन्त्रीको नाम टुंगो लगाएको छ। पार्टीभित्रको आन्तरिक छलफलपछि सोमबार दिउँसो मन्त्रीहरूको नाममा सहमति जुटेको हो ।

नेकपा कोशी प्रदेश इञ्चार्ज राजेन्द्र राईका अनुसार जीवन आचार्य, गीता तिम्सिना, गोम्बु शेर्पा र खिनु लङ्वा लिम्बु मन्त्री बन्ने भएका छन् । त्यस्तै सपना दर्जीलाई राज्यमन्त्री बनाउने निर्णय भएको छ ।

आचार्यले भौतिक पूर्वाधार विकास मन्त्रालय, तिम्सिनाले सामाजिक विकास मन्त्रालय, शेर्पाले आन्तरिक मामिला तथा कानुन मन्त्रालय र लिम्बुले पर्यटन, वन तथा वातावरण मन्त्रालय सम्हाल्नेछन् । दर्जीलाई भौतिक पूर्वाधार विकास राज्यमन्त्रीको जिम्मेवारी दिने तयारी छ ।

आचार्य यसअघि पनि प्रदेश सरकारमा मन्त्री भइसकेका छन्। उनी नेकपा संयोजक पुष्पकमल दाहाल ‘प्रचण्ड’का छोरीज्वाइँ हुन् । पार्टीका प्रदेश इञ्चार्ज राईका अनुसार नयाँ मन्त्रीहरूको सोमबार अपराह्न ४ बजे शपथ गराउने तयारी छ ।

सत्ता समीकरणमा आएको परिवर्तनसँगै नेपाली कम्युनिस्ट पार्टी प्रदेश सरकारमा सहभागी हुन लागेको हो। मन्त्रालयको जिम्मेवारी बाँडफाँटसँगै कोशी सरकारमा पार्टीको राजनीतिक प्रभावसमेत थप बलियो हुने देखिएको छ ।

प्रकाशित मिति : १ भाद्र २०८३, सोमबार ००:००  ३ : ०८ बजे