१७ आश्विन २०८३, शनिबार | Sat Oct 3 2026

झिलझिले भेट्रान्सको शानदार जित, सेमिफाइनलमा प्रवेश



अर्जुनधारा-झापाको अर्जुनधारामा सुरु भएको प्रथम सालबारी-मिलडाँडा पुरुष नकआउट भेट्रान्स फुटबल प्रतियोगिताको उद्घाटन खेलमा झिलझिले भेट्रान्स फुटबल क्लबले शानदार जित निकाल्दै सेमिफाइनलमा स्थान सुरक्षित गरेको छ ।

स्थानीय देउनिया खेलमैदानमा शनिबार भएको खेलमा झिलझिले भेट्रान्सले ज्ञानेचोक भेट्रान्स फुटबल क्लबलाई ४-० गोल अन्तरले पराजित गर्‍यो ।

झिलझिलेको जितमा प्रकाश शेर्माले २० औँ मिनेटमा गोल गर्दै खाता खोले । त्यसको पाँच मिनेटपछि कप्तान जसु राईले गोल थप्दै टोलीको अग्रता २-० मा पुर्‍याए । श्यामबहादुर लिम्बूले ३५ औँ मिनेटमा गोल गरेपछि झिलझिले पहिलो हाफमै ३-० को बलियो अवस्थामा पुगेको थियो ।

दोस्रो हाफमा पनि झिलझिलेले दबाब कायम राख्यो । कप्तान राईले खेलको ५६ औँ मिनेटमा व्यक्तिगत दोस्रो गोल गरेपछि झिलझिलेले ४-० को सहज जित पक्का गर्‍यो ।

खेल अवधिभर झिलझिलेले बलमाथि पकड राख्दै आक्रामक खेल प्रदर्शन गरेको थियो । ज्ञानेचोकले पनि गोलका केही अवसर सिर्जना गरे पनि फिनिसिङमा चुक्दा गोल गर्न सकेन ।

झिलझिलेका कप्तान जसु राई खेलको प्लेयर अफ द म्याच घोषित भए । उनले नगद ३ हजार रुपैयाँ पुरस्कार प्राप्त गरे ।

सालबारी मिलडाँडा युवा परिवारको आयोजनामा सुरु भएको प्रतियोगिताको उद्घाटन अर्जुनधारा नगरपालिकाका प्रमुख बलदेवसिंह गोम्देनले गरेका थिए । आयोजक समितिका संयोजक नन्दलाल खतिवडाको अध्यक्षतामा भएको उद्घाटन समारोहमा कोषाध्यक्ष किरण जवेगुले स्वागत गरेका थिए ।

कार्यक्रममा अर्जुनधारा नगरपालिकाकी उपप्रमुख खड्गमाया पराजुलीले अर्जुनधारा खेलकुदको क्षेत्रमा अघि रहेको बताइन् । खेलाडी र अफिसियलको योगदानले नगरको पहिचान र गरिमा खेलकुदमार्फत थप उचाइमा पुगेको उनको भनाइ थियो ।

अर्जुनधारा–११ का वडाध्यक्ष तथा प्रतियोगिताका सहआयोजक खगेन्द्र इङनामले प्रतियोगिताको औचित्यमाथि प्रकाश पारेका थिए ।

प्रतियोगिताअन्तर्गत आइतबार आयोजक मिलडाँडा भेट्रान्स र चन्द्रगढी भेट्रान्सबीच प्रतिस्पर्धा हुनेछ । त्यसअघि नेपाल पुलिस झापा र शनिश्चरे एफसीबीच मैत्रीपूर्ण खेल हुने आयोजकले जनाएको छ ।

प्रकाशित मिति : १७ आश्विन २०८३, शनिबार ००:००  ८ : १७ बजे