१७ आश्विन २०८३, शनिबार | Sat Oct 3 2026

काठमाडौंमा क्षितिज नाट्य प्रतिष्ठानको जिल्ला शाखा विस्तार



काठमाडौं– क्षितिज नाट्य प्रतिष्ठान नेपालले काठमाडौंमा जिल्ला शाखा विस्तार गरेको छ । प्रतिष्ठानले परम्परागत संरचना परिवर्तन गर्दै पाँचथरमा केन्द्रीय कार्यालय, झापामा केन्द्रीय सम्पर्क कार्यालय र काठमाडौंमा जिल्ला शाखा स्थापना गरेको हो ।

जमलमा आयोजित भेलाले दिवाकर मानसिंह बस्नेतको अध्यक्षतामा काठमाडौं जिल्ला शाखा गठन गरेको छ । समितिको उपाध्यक्षमा रेनुकादेवी खरेल र राजु श्रेष्ठ, महासचिवमा दिनेश पाख्रिन, सचिवमा तुलसा खत्री र कोषाध्यक्षमा ज्ञानेन्द्रकुमार श्रेष्ठ चयन भएका छन् ।

कार्यक्रममा नेपाल संगीत तथा नाट्य प्रज्ञा प्रतिष्ठानका रंगमञ्च विभाग प्रमुख विजय विष्फोट प्रमुख अतिथि थिए । सामाजिक व्यक्तित्व दिलविकास राजभण्डारीको अध्यक्षतामा भएको कार्यक्रम भएको हो ।

कार्यक्रममा बोल्दै विष्फोटले क्षितिजले अघि बढाएको ‘एक इँटा अभियान’ र संस्थागत प्रयासले नेपाली रंगमञ्च तथा सांस्कृतिक क्षेत्रमा उल्लेखनीय प्रभाव पारेको बताए ।

पाँच वर्षभित्र आफ्नै नाटकघर

प्रतिष्ठानका केन्द्रीय अध्यक्ष माधव कल्पितले आगामी पाँच वर्षभित्र काठमाडौंमा संस्थाकै स्वामित्वमा सुविधा सम्पन्न नाटकघर निर्माण गर्ने घोषणा गरेका छन् ।

झापामा नागरिकको सहभागितामा ‘एक इँटा अभियान’मार्फत नाटकघर निर्माणको काम अघि बढाइएको उल्लेख गर्दै उनले काठमाडौंलाई केन्द्र बनाएर रंगमञ्च, साहित्य, कला तथा संस्कृतिका गतिविधि विस्तार गर्ने बताए ।

उनका अनुसार काठमाडौं शाखाले देशभरका रंगकर्मी, कलाकार, साहित्यकार तथा संस्कृतिकर्मीलाई संस्थागत अभियानमा जोड्दै प्रशिक्षण, नाट्य प्रस्तुति र सांस्कृतिक संरक्षणका कार्यक्रम सञ्चालन गर्नेछ ।

यसैबीच लण्डन निवासी आरपी लामिछानेलाई प्रवास विभागमा रहेर काम गर्ने गरी प्रतिष्ठानको आजीवन सदस्यता प्रदान गरिएको छ । सल्लाहकार समितिको संयोजकमा दिलविकास राजभण्डारी, सदस्यसचिवमा पूर्वमेयर गणेशबहादुर श्रेष्ठ तथा कानुनी सल्लाहकारमा रामशरण घिमिरे चयन भएका छन् ।

प्रकाशित मिति : १७ आश्विन २०८३, शनिबार ००:००  ८ : ३८ बजे