अर्जुनधारा-झापाको अर्जुनधारामा प्रथम सालबारी–मिलडाँडा पुरुष भेट्रान्स फुटबल प्रतियोगिता आजदेखि सुरु हुँदैछ । सालबारी-मिलडाँडा युवा परिवार अर्जुनधारा-११ को आयोजनामा हुने प्रतियोगितामा आठ भेट्रान्स टोलीले प्रतिस्पर्धा गर्दैछन् ।
अर्जुनधारा-११ स्थित देउनिया खेलमैदानमा हुने प्रतियोगिताको उद्घाटन खेलमा ज्ञानेचोक भेट्रान्स पृथ्वीनगर र झिलझिले भेट्रान्सबीच प्रतिस्पर्धा हुनेछ ।
असोज २४ गते हुने फाइनलको विजेताले ५१ हजार १ सय ११ रुपैयाँ नगदसहित ट्रफी पाउनेछ । उपविजेताले ३१ हजार १ सय ११ रुपैयाँ नगद र ट्रफी प्राप्त गर्ने आयोजकले जनाएको छ ।
प्रतियोगितामा प्रत्येक खेलका उत्कृष्ट खेलाडीलाई ‘प्लेयर अफ द म्याच’बापत २ हजार रुपैयाँ नगद र ट्रफी प्रदान गरिनेछ । यस्तै, विधागत उत्कृष्ट खेलाडीलाई जनही ३ हजार ५ सय रुपैयाँ तथा सर्वोत्कृष्ट खेलाडीलाई ५ हजार रुपैयाँ नगदसहित ट्रफी प्रदान गरिनेछ ।
प्रतियोगिता सञ्चालनका लागि करिब ७ लाख ९० हजार २ सय २२ रुपैयाँ खर्च हुने अनुमान गरिएको छ । भेट्रान्स खेलाडीलाई आफ्नो प्रतिभा प्रदर्शन गर्ने अवसर प्रदान गर्नुका साथै स्थानीयस्तरमा फुटबलको विकास र प्रवर्द्धन गर्ने उद्देश्यले प्रतियोगिता आयोजना गरिएको संयोजक नन्दलाल खतिवडाले बताए ।



















