दाउन्नेमा बस दुर्घटना : ६ जनाको मृत्यु, १० घाइते
नवलपुर । पूर्व–पश्चिम राजमार्गअन्तर्गत नवलपुरको दाउन्नेमा यात्रुवाहक बस दुर्घटना हुँदा ६ जनाको मृत्यु भएको छ । दुर्घटनामा १० जना घाइते भएका छन् ।
कोहलपुरबाट काठमाडौंका लागि छुटेको बस आइतबार बिहान करिब पौने ४ बजे दाउन्नेमा पुगेपछि ब्रेक फेल भएर अनियन्त्रित भई सडकबाट नालातर्फ पल्टिएको जिल्ला प्रहरी कार्यालय नवलपुरले जनाएको छ ।
जिल्ला प्रहरी कार्यालय नवलपुरका प्रवक्ता प्रहरी नायब उपरीक्षक अनिल पण्डितले दुर्घटनामा ६ जनाको मृत्यु भएको पुष्टि गरे । उनका अनुसार मृतकको पहिचान खुल्न बाँकी छ ।
दुर्घटनामा घाइते भएकाहरूलाई उद्धार गरी उपचारका लागि कावासोतीस्थित मध्यविन्दु प्रादेशिक अस्पताल पठाइएको छ । दुर्घटनाको थप विवरण तथा मृतक र घाइतेको पहिचान खुलाउने काम भइरहेको प्रहरीले जनाएको छ ।



















