१६ आश्विन २०८३, शुक्रबार | Fri Oct 2 2026

कन्याममा खुल्यो ‘वृक्षालय’, चिया पर्यटन प्रवर्द्धनमा जोड



बिर्तामोड– पूर्वी पहाडको प्रमुख पर्यटकीय गन्तव्य इलामको कन्याममा सुविधासम्पन्न होटल तथा रिसोर्ट ‘कन्याम वृक्षालय’ सञ्चालनमा आएको छ ।

चियाबारीको प्राकृतिक सौन्दर्यसँगै स्थानीय उत्पादन, मौलिक खानपान र नेपाली आतिथ्यको अनुभव दिलाउने उद्देश्यले वृक्षालय सञ्चालनमा ल्याइएको हो ।

कोशी प्रदेश सरकार र सूर्योदय नगरपालिकाको साझेदारीमा निर्मित चिया परीक्षण, प्रवर्द्धन तथा अनुसन्धान केन्द्र परिसरमा वृक्षालय सञ्चालनमा आएको छ ।

लामो समयसम्म पूर्णरूपमा उपयोगमा आउन नसकेको संरचना सार्वजनिक खरिद अनुगमन कार्यालयको विद्युतीय बोलपत्र प्रक्रियाबाट उत्तम प्रगति निर्माण सेवाले १० वर्षका लागि भाडामा लिएपछि सञ्चालनमा ल्याइएको हो ।

सम्झौतामा उपलब्ध गराइएका पाँचवटा भवनबाहेक सञ्चालक पक्षले करिब २ करोड रुपैयाँ थप लगानी गरी आवश्यक संरचना निर्माण तथा सुधार गरेको जनाएको छ ।

मासिक करिब ३ लाख रुपैयाँ भाडा तिर्नेगरी संरचना लिइएको कम्पनीका अध्यक्ष उत्तमकुमार श्रेष्ठले बताए ।

‘हामीले होटल मात्रै सञ्चालन गर्न खोजेका होइनौँ,’ श्रेष्ठले भने, ‘कन्यामको चियाबारी, चिया उत्पादन, किसानको मेहनत र चियाको स्वादलाई पर्यटकको अनुभवसँग जोडेर चिया पर्यटनको नयाँ गन्तव्य बनाउने हाम्रो लक्ष्य हो ।’

वृक्षालयका सञ्चालक तेजेन्द्र शर्माले कन्यामलाई केवल घुमेर फर्किने गन्तव्यका रूपमा नभई पर्यटकले केही दिन बिताएर स्थानीय जीवनशैली, संस्कृति, खानपान र आतिथ्य अनुभव गर्ने केन्द्रका रूपमा विकास गर्न खोजिएको बताए ।

‘पर्यटकले कन्याम आएर चियाबारी हेर्ने र फर्किने मात्रै होइन, यहाँको प्रकृति, चिया र स्थानीय स्वादको अनुभव लिएर फर्किने वातावरण बनाउन खोजेका छौँ,’ उनले भने ।

सञ्चालक राजु ढकालले स्थानीय उत्पादन र व्यवसायलाई पर्यटनसँग जोडेर कन्यामको आर्थिक गतिविधि बढाउने योजना रहेको बताए । ‘स्थानीय किसानले उत्पादन गरेका वस्तु, स्थानीय परिकार र यहाँको मौलिकतालाई पर्यटकसम्म पुर्‍याउन सके पर्यटनको लाभ स्थानीय समुदायसम्म पुग्छ,’ उनले भने ।

सञ्चालक सन्तोष कुँवरले कन्यामलाई पूर्वी नेपालको पर्यटन प्रवेशद्वारका रूपमा विकास गर्न अन्य पर्यटकीय गन्तव्य र व्यवसायीसँग सहकार्य गरिने बताए । उनका अनुसार इलाम आउने पर्यटकलाई कन्याममा मात्र सीमित नराखी जिल्लाका अन्य पर्यटकीय क्षेत्रसँग जोडेर बसाइ लम्ब्याउने योजना छ ।

‘पर्यटकलाई कम्तीमा चार रात पाँच दिन इलाममा बस्ने वातावरण बनाउन सकिने गरी पर्यटन प्याकेज र सेवा विकास गर्नुपर्छ,’ कुँवरले भने, ‘यसका लागि स्थानीय होटल, होमस्टे, किसान र पर्यटन व्यवसायीसँग सहकार्य गर्छौँ ।’

सञ्चालक समिर श्रेष्ठले भारतको बिहार, पश्चिम बंगाल, भुटान, बंगलादेश र म्यानमारलगायत क्षेत्रलाई लक्षित गरी पर्यटक आकर्षित गर्ने योजना रहेको बताए ।

‘पूर्वी नेपालमा आउने पर्यटकका लागि इलामलाई बसाइको गन्तव्य बनाउन सकिन्छ,’ उनले भने, ‘त्यसका लागि गुणस्तरीय सेवा, स्थानीय स्वाद र नेपाली आतिथ्यलाई प्राथमिकता दिएका छौँ ।’

इलामको प्रमुख पहिचान चियालाई पेय पदार्थमा मात्र सीमित नराखी ‘चिया पर्यटन’ को आधारका रूपमा विकास गर्ने योजना सञ्चालक पक्षको छ । चिया उत्पादनदेखि चिया पिउँदासम्मको प्रक्रिया र अनुभव पर्यटकलाई उपलब्ध गराउने योजना रहेको जनाइएको छ ।

विश्व पर्यटन बजारको अनुभव भएका ४० वर्षभन्दा कम उमेरका चार युवाको सामूहिक लगानी तथा व्यवस्थापनमा वृक्षालय सञ्चालनमा आएको जनाइएको छ ।

हाल यहाँ करिब २५ जनाले प्रत्यक्ष रोजगारी पाएका छन् । रोजगारीमा स्थानीय युवालाई प्राथमिकता दिइएको सञ्चालक पक्षले जनाएको छ ।

‘सरसफाइ, सत्कार र स्वादलाई हामीले मुख्य आधार बनाएका छौँ,’ सञ्चालक शर्माले भने, ‘कन्यामबाट पर्यटकले एउटा विशेष अनुभव लिएर फर्किऊन् भन्ने हाम्रो चाहना हो ।’

वृक्षालयका अनुसार काठमाडौँ, चितवन, लमजुङ, बाँके र इलाममा यसका शाखा सञ्चालनमा छन् । आगामी दिनमा देशका ७७ वटै जिल्लामा शाखा विस्तार गर्ने योजना रहेको जनाइएको छ ।

वृक्षालय परिसरमै चिया परीक्षण, प्रवर्द्धन तथा अनुसन्धान केन्द्र र चिया संग्रहालयसमेत सञ्चालनमा छन् । यी संरचनाको स्वामित्व तथा व्यवस्थापन भने कोशी प्रदेश सरकार र सूर्योदय नगरपालिकाकै रहेको बताइएको छ ।

प्रकाशित मिति : १६ आश्विन २०८३, शुक्रबार ००:००  ८ : ०० बजे