१ भाद्र २०८३, सोमबार | Mon Aug 17 2026

सार्वजनिक खरिदमा स्थानीय तहलाई ‘कानुनको पाठ’ : शिवसताक्षीमा चारदिने अभिमुखीकरण



शिवसताक्षी-सार्वजनिक खरिद प्रक्रियामा हुने कानुनी तथा प्रक्रियागत त्रुटि न्यूनीकरण गर्दै खरिद प्रणालीलाई पारदर्शी र व्यवस्थित बनाउने उद्देश्यले झापाको शिवसताक्षी नगरपालिकाले जनप्रतिनिधि तथा कर्मचारीका लागि चारदिने अभिमुखीकरण सुरु गरेको छ ।

नगरपालिकाको कार्यालयमा सोमबारदेखि सुरु भएको अभिमुखीकरणमा सार्वजनिक खरिद ऐन तथा नियमावलीका पछिल्ला प्रावधान, खरिदका विधि र प्रक्रियादेखि व्यवहारमा देखिने समस्याको समाधानसम्मका विषयमा प्रशिक्षण दिइँदैछ ।

स्थानीय तहमा विकास निर्माणदेखि दैनिक प्रशासनिक कामसम्म सार्वजनिक खरिद प्रत्यक्ष रूपमा जोडिने भएकाले खरिद प्रक्रियामा संलग्न जनप्रतिनिधि र कर्मचारीलाई कानुनी तथा व्यावहारिक ज्ञान दिन कार्यक्रम आयोजना गरिएको नगरपालिकाले जनाएको छ ।

अभिमुखीकरणमा सार्वजनिक खरिदका प्रकार तथा विधि, खरिदका लागि आवश्यक समिति, इकाइ तथा शाखाको भूमिका, रणनीतिक खरिद योजना, प्राविधिक विवरण तयार गर्ने प्रक्रिया, कार्यक्षेत्र तथा शर्त निर्धारण र लागत अनुमान तयार गर्नेसम्बन्धी विषयमा प्रशिक्षण दिइँदैछ।

त्यस्तै, लागत अनुमान सार्वजनिक गर्ने व्यवस्था, बोलपत्र आह्वान तथा मूल्याङ्कन, दरभाउपत्रलगायत खरिद प्रक्रियाका महत्वपूर्ण चरणबारे समेत सहभागीलाई जानकारी गराइनेछ ।

सरकारले सार्वजनिक खरिदसम्बन्धी ऐन तथा कानुनी व्यवस्थामा संशोधन गरेपछि त्यसबारे स्थानीय तहका जनप्रतिनिधि र कर्मचारीलाई अद्यावधिक गराउने उद्देश्यले अभिमुखीकरण आयोजना गरिएको हो ।

संशोधित प्रावधानको प्रभावकारी कार्यान्वयनसँगै खरिद प्रक्रियामा देखिने कानुनी जटिलता र सम्भावित त्रुटि घटाउने नगरपालिकाको लक्ष्य छ ।

चारदिने कार्यक्रममा नगरपालिकाका जनप्रतिनिधि, वडा सचिव तथा सार्वजनिक खरिदसम्बन्धी काममा प्रत्यक्ष संलग्न कर्मचारी सहभागी छन् ।

कार्यक्रमले खरिद प्रक्रियामा पारदर्शिता, जवाफदेहिता र कानुनको पालना बढाउँदै स्थानीय तहमा सुशासन कायम गर्न सहयोग पुग्ने अपेक्षा गरिएको छ । अभिमुखीकरणमा लक्ष्मण खतिवडा र नवानित तिवारीले सहजीकरण गरिरहेका छन् ।

कार्यक्रममा कानुनी प्रावधानको सैद्धान्तिक जानकारीसँगै सार्वजनिक खरिदका क्रममा व्यवहारमा आइपर्ने समस्या, त्यसको समाधान र प्रक्रियागत अभ्यासबारे समेत प्रशिक्षण दिइने नगरपालिकाले जनाएको छ ।

प्रकाशित मिति : १ भाद्र २०८३, सोमबार ००:००  ४ : ४८ बजे