अर्जुनधारा-झापाको अर्जुनधारामा सुपारी अनुसन्धान तथा प्रशोधन केन्द्र स्थापना गरिने भएको छ । संघीय सरकारले उपलब्ध गराएको बजेटका आधारमा अर्जुनधारामा प्रशोधन केन्द्र स्थापना अघि बढाइने भएको हो ।
प्रतिनिधि सभाका सभामुख देवराज घिमिरेको अग्रसरतामा बजेट सुनिश्चित भए लगत्तै अर्जुनधारा नगरपालिकाले प्रशोधन केन्द्र स्थापनाका लागि जग्गाको खोजी सुरु गरेको छ ।
नगर प्रमुख बलदेव गाेम्देनले सुपारी खेतीको प्रवर्द्धनका लागि प्रशोधन केन्द्र आवश्यक भएकाले नगर क्षेत्रभित्र जग्गाको खोजी सुरु गरिएको बताए ।
‘अहिले सरकारी खाली जग्गाको खोजी भइरहेको छ’, नगर प्रमुख गोम्देनले भने, ‘जग्गाको व्यवस्थापन हुने बित्तिकै प्रशोधन केन्द्रको काम अगाडि बढ्छ ।’
अर्जुनधारा ५ मा करिब १० बिघा खोला उकास जग्गा फेला परेको भए पनि त्यसका विषयमा अन्तिम टुङ्गो लगाउन बाँकी रहेको नगरपालिका प्रेस संयोजक नन्दलाल खतिवडा बताए । कृषि विज्ञहरूको टोलीले उपलब्ध जग्गाको विस्तृत अध्ययन गर्नेछ ।
कृषि ज्ञान केन्द्र झापाका अनुसार जिल्लामा तीन हेक्टर क्षेत्रफलमा सुपारी खेती हुन्छ । झापाका किसानले वार्षिक १० हजार मेट्रिक टन सुपारी फलाउँदै आएका छन् ।