१५ बैशाख २०८१, शनिबार | Sat Apr 27 2024

तेलगानी पोखरी संरक्षण र मन्दिर तथा शौचालय निर्माणमा सेनाको श्रमदान




बिर्तामोड–झापाको बिर्तामोड–१० स्थित तेलगानी पोखरीको विकासका लागि नेपाली सेनाले श्रमदान गरेको छ । नेपाली सेनाको चारआलीस्थित अरिदमन गणले तेलगानी पोखरीमा राधाकृष्ण मन्दिर, सत्सङ्ग भवन र शौचालय निर्माण गरिदिएको हो ।

शनिवार ती संरचनाको उद्घाटन गरी मन्दिर संरक्षण समितिलाई हस्तान्तरण गरिएको छ । बिर्तामोड नगरपालिकाका नगर उपप्रमुख नगेन्द्रप्रसाद संग्रौला र २१ बाहिनी अड्डाका बाहिनीपति सहायक रथी धनबहादुर थापाले संयुक्त रुपमा ती संरचनाको उद्घाटन गरेका हुन् ।

ती संरचना निर्माण गर्नका लागि सेनाले गत भदौ २० गतेबाट श्रमदान थालेको थियो । प्रत्येक दिन १५ जनाका दरले श्रमदान गरिएको अरिदमन गणका गणपति प्रमुख सेनानी प्राजु बस्न्यातले बताए । उनले ५ लाख रुपैयाँको बजेटले १५ लाख बराबरको काम गरिएको जानकारी दिए ।

बाहिनीपति सहायक रथी थापाले यस किसिमका कार्यले ऐतिहासिक महत्वका स्थलहरुको जगेर्ना हुने, आम जनचासोका पवित्रस्थलहरुको महत्व बढ्दै जाने र नागरिक–सैनिक सम्बन्ध अझ प्रगाढ बन्दै जाने विश्वास व्यक्त गरे ।

कार्यक्रममा बिर्तामोड १० का वडा अध्यक्ष दुर्योधन गुरुङ र तेलकानी पोखरी संरक्षण समितिका अध्यक्ष महेन्द्र शिवाकोटी, सचिव चेतानन्द निरौलालगायतले मन्तव्य राखेका थिए ।

प्रकाशित मिति : २७ फाल्गुन २०८०, आइतबार ००:००  ९ : ३१ बजे