१५ बैशाख २०८१, शनिबार | Sat Apr 27 2024

वाणिज्य सङ्घको निर्वाचनमा कडा प्रतिस्पर्धा, मत गणनाका लागि सर्वदलीय बैठक



झापा-बिर्तामोड उद्योग वाणिज्य सङ्घको नयाँ नेतृत्व चयनका लागि सोमबार भएको निर्वाचनको मतगणना केहीबेरपछि प्रारम्भ हुँदैछ । पूर्व तयारी सकिनासाथ मतगणनाको कार्य प्रारम्भ हुनेछ । अहिले भर्खरै सर्वदलीय बैठक सुरु भएको छ ।

व्यावसायिक वृत्तमा यस पटकको निर्वाचनलाई एकदमै चासोपूर्वक हेरिएको छ । दलीय प्रभावको पृष्ठभूमिबाट व्यावसायिक नेतृत्व चयन हुन लागेको पहिलो पटक नभएपनि संघ भित्रको एकाधिकार अन्त्य गर्ने प्रयत्नका रुपमा यो निर्वाचनलाई लिइएको हाे ।

नेकपा एमाले लगायतका दलहरूको समर्थनमा बनेको स्वतन्त्र व्यावसायिक प्यानल र नेपाली कांग्रेसको समर्थनमा बनेको लोकतान्त्रिक व्यावसायिक प्यानलका बीच चुनावी प्रतिस्पर्धा भएको हो ।

स्वतन्त्र व्यावसायिक प्यानलका तर्फबाट अर्जुन कुमार मैनाली र व्यावसायिक प्यानलका तर्फबाट राजु न्यौपाने चुनावी प्रतिस्पर्धामा उत्रिएका छन् ।

यसपटक नेपाली कांग्रेसनिकट व्यवसायी एक्लै चुनावी मैदानमा खडा भएका हुन् । निर्वाचनमा खटिएका एक अधिकृतका अनुसार यस पटकको निर्वाचनमा उम्मेदवारबीच कडा प्रतिस्पर्धा देखिएको छ ।

यद्यपि, मत परिणामले यसको पुष्टि गर्ने ती अधिकृतले बताए । कतिपय उम्मेदवारले आफ्नै पार्टीभित्रको अन्तर्घात बेहोर्नुपर्ने स्थिति देखिएको छ । प्यानलभित्र देखिएको अविश्वासकाे प्रभाव पनि मतगणनामा देखिने उनले दावी गरे ।

५,५०० भन्दाबढी मतदाता रहेको सङ्घको निर्वाचनमा ४ हजार ९४ मत खसेको निर्वाचन आयोगले जनाएको छ ।

प्रकाशित मिति : १४ फाल्गुन २०८०, सोमबार ००:००  १० : ०५ बजे