१५ बैशाख २०८१, शनिबार | Sat Apr 27 2024

हुलदंगापछि काँकडभिट्टाको होटल हिकोला बन्द, प्रवन्धक श्रेष्ठमाथि आक्रमण



बिर्तामोड- नियमित सञ्चालनमा रहेको काँकडभिट्टास्थित होटल हिकोला हेरिटेज घरधनी पशुपति भनिने खगेन्द्र दाहाल लगायतको नेतृत्वमा हुलदंगा गरिएपछि बन्द भएको छ । होटलको नामको अगाडि न्यू होटल हिकोला हेरिटेज थपिएको छ ।

घटना नम्बर १
माघ २६ गते झापाको काँकरभिट्टास्थित होटल हिकोला हेरिटेजले चौथो वार्षिक उत्सव मनाउने तयारी गरेको थियो । वार्षिक उत्सवसँगै साहित्य चौतारीको मासिक सांगीतिक काव्यसभाको कार्यक्रम पनि तय गरियो ।

भारतीय तीन श्रष्टा र नेपालका दुई साहित्यिक व्यक्तित्वलाई सम्मान गर्ने, पर्यटन प्रवर्द्धनमा कला र साहित्यको भूमिकाका विषयमा अन्तरक्रिया गर्ने लगायतका कार्यक्रम राखिएका थिए ।

कार्यक्रमको अघिल्लो दिन साँझ करिब एक सयको सङ्ख्यामा एउटा जत्था होटलभित्र पस्यो । होटलका प्रबन्ध निर्देशक गौरव श्रेष्ठलाई लछारपछार गर्दै कुटपिट गरेर बाहिर निकालियो । होटलमा बसेका पाहुनालाई राति नै अमर्यादित ढङ्गले जबरजस्ती निकालेर हिँड्न बाध्य पारियो ।

आफूमाथि आक्रमण भएपछि न्यायका लागि युवा व्यवसायी श्रेष्ठ प्रहरीमा गए । प्रहरीले उनको कुरा सुनेन । उल्टै हप्काएर पठाइदियो । उनी होटलका सञ्चालक बाबु देवीभक्त श्रेष्ठका साथमा लागेर आफूमाथि गरिएको दुर्व्यवहार र अपमान सहँदै न्यायका लागि जिल्ला प्रशासन कार्यालय गए ।

जिल्ला प्रशासन कार्यालयले मेचीनगर नगरपालिका पठाइदियो । मेचीनगर नगरपालिकामा माघ २६ गते अपरान्ह छलफल आयोजना गरी होटलमा तालाबन्दी गर्ने सहमति भयो । होटलको एउटा ताला प्रहरीले राख्ने सहमति भएपनि अन्तत प्रहरीले अस्वीकार गर्यो ।

माघ २६ गतेआफ्नै जन्मदिनका दिन न्यायका लागि होटलका प्रबन्ध निर्देशक श्रेष्ठ भौतारिँदै कुदे । अघिल्लो दिन होटल कब्जा भएपछि काँकडभिट्टाको कार्यक्रम रातारात बिर्तामोड सारियो । भारतबाट आएका स्रष्टा सर्जकलाई बिर्तामोडमै ल्याइयो ।

घटना नम्बर २
मेचीनगर नगरपालिकामा भएको छलफल अनुसार माघ २८ गते होटलको ताला खोलेर त्यहाँ भएका सामान रुजु गर्ने सहमति भएको थियो । सहमति अनुसार प्रबन्ध निर्देशक गौरव श्रेष्ठ आफ्ना केही कर्मचारीसहित काँकरभिट्टास्थित होटलमा पुगे । त्यहाँ फेरि विवाद भयो ।

विवादका बीच मेची उद्योग वाणिज्य सङ्घका अध्यक्ष खेम प्रसाईंले श्रेष्ठमाथि अभद्र व्यवहार गर्दै कुटपिट गरे । पहिलो दिन आफूमाथि आक्रमण गर्ने केही अराजक युवा आइतबार पनि होटलमा प्रवेश गरेपछि श्रेष्ठ आफ्ना कर्मचारीसहित त्यहाँबाट भागे ।

काँकडभिट्टाबाट उम्किएर बिर्तामोड आएका श्रेष्ठले आइतबार अपरान्ह सम्मेलन गरी आफूमाथि पटकपटक ज्यान मार्ने नियतले आक्रमण भएको बताएका छन् । उनले आफूलाई घेरामा पारेर होटलबाट लछारपछार गर्दै निकालिए पनि प्रहरीले उजुरी दर्ता गर्न नमानेको मात्रै बताएनन्, एउटा व्यवसायिक संस्थाकै अगुवाई र नेतृत्वमा होटल कब्जा गरेर ताला लगाइएको जिकिर गरे ।

आफूमाथि नियोजित ढङ्गमा आक्रमणमा उत्रिने र दुर्व्यवहार गर्ने घरधनी विष्णु माया श्रेष्ठ र पशुपति भनिने खगेन्द्र दाहाल र मेची उद्योग वाणिज्य सङ्घका अध्यक्ष प्रसाईमाथि कारबाही हुनुपर्ने माग गरेका छन् ।

के हो विवादको विषय ?
घरधनी श्रेष्ठसँग होटल सञ्चालनका लागि सम्झौता गरेको केही समयपछि कोरोना संक्रमण सुरु भयो । लामो समय होटल सञ्चालन हुन सकेन । काबु बाहिरको परिस्थिति सिर्जना भएकाले सम्झौता अनुसार सहमतिका आधारमा आठ महिनाको भाडा नलिने सहमति भयो । सोही अनुसार दुवै पक्षबाट होटलमा गरिएको लगानी त्यहाँ भएका सामानको मूल्याङ्कन सहितको प्रतिवेदन तयार भयो ।

जिल्ला प्रशासन कार्यालय झापाकै निर्देशनमा तयार भएका ती प्रतिवेदन उपर छलफल गरी सहमतिका आधारमा लगानी निर्धारण गरियो । होटलका सञ्चालक श्रेष्ठका अनुसार उनले त्यहाँ दुई करोडभन्दा बढी लगानी गरेका छन् ।

जीर्ण घरलाई होटलको रुप दिएर एक्सेल बैंकमार्फत कर्जा लिएर काँकडभिट्टामा होटल व्यवसाय सञ्चालन गरेका श्रेष्ठ आफूले नियमित भाडा तिर्दै आएको बताउँछन् । तर, घरधनी दाहालले भने भाडा नपाएको जिकिर गर्दै आएका छन् । दाहालकी श्रीमती विष्णुमायाले होटल सञ्चालक श्रेष्ठले आफ्नो घर हडप्न खोजेको आरोप लगाएकी छन् ।

के भाडा विवाद सुल्झाउनै नसकिने विषय हो ?
व्यवसायी र घरधनीबीच देखिएको भाडा विवादको विषय कुटपिट र दुर्व्यवहारमा परिणत भएको छ । होटलमा बसेका पाहुनाहरूलाई निकाल्ने लगायतका अमर्यादित क्रियाकलाप भएका छन् ।

होटल व्यवसायी श्रेष्ठले आइतबार आयोजित पत्रकार सम्मेलनमा आफूले तिर्नुपर्ने कुनै भाडाको दायित्व देखिए क्षणभरमै तिर्ने बताएका छन् । उनले आफूलाई होटलबाट जबरजस्ती निकाल्ने संगठित प्रयास भएको बताएका छन् ।

१५ वर्षका लागि होटल सञ्चालन गर्न सम्झौता गरिएकाले आफूले सोहीअनुसार लगानी गरेको, अहिले होटल राम्रोसँग सञ्चालन हुन थालेपछि त्यहाँबाट आफूलाई जबरजस्ती विस्थापित गर्ने प्रयत्न भएको श्रेष्ठले बताए ।

प्रहरीको भूमिका पनि शंकास्पद
लेनदेनका विवादहरू जे जस्तो भएपनि प्रहरीको काम शान्ति सुरक्षा दिनु हो । तर, इलाका प्रहरी कार्यालय काँकडभिट्टाले भने होटलमा हुलदुङ्गा हुँदा समेत कुनै चासो नदेखाएको होटल व्यवसायी श्रेष्ठको दाबी छ । प्रहरीले उल्टै घरधनीलाई खुसी बनाउनुस् नभए यस्तै हो भन्ने खालको जवाफ दिएको छ ।

भाडा तिरे नतिरेको हेरिदिनुस् : श्रेष्ठ
सोमवार मेची उद्योग वाणिज्य संघले घरधनी दाहाललाई राखेर पत्रकार सम्मेलन आयोजना गर्यो । घरधनी दाहाल र होटल सञ्चालक श्रेष्ठ बीचको विवादका विषयमा मेची उद्योग वाणिज्य सङ्घ पुरापुर जानकार छ ।

सञ्चालक श्रेष्ठले दाहालको घरलाई होटलको रूप दिइरहँदा त्यहाँ गरिएको लगानीको बिल भौचर र भरपाईका लागि मेची उद्योग वाणिज्य संघले आफ्नो कर्मचारी नै खटाएको थियो ।

सञ्चालक श्रेष्ठले कति भाडा तिर्न बाँकी छ भन्ने विषयमा सोमवारको पत्रकार सम्मेलनमा कसैले भन्न सकेन । घरधनी विष्णुमाया श्रेष्ठले भने बारम्वार तीन वर्षदेखि भाडा नपाएको जिकिर मात्रै गरिरहिन् ।

होटल सञ्चालक श्रेष्ठ आफूले भाडा तिरे नतिरेको हेरिदिन र सही गलत छुट्याइदिन पटक पटक भनिरहेका छन् । भाडा तिरेको छैन भन्ने एकपक्षीय प्रचार गरेर स्थानीय समुदायलाई भ्रममा राख्न खोजिएको श्रेष्ठको दाबी छ ।

प्रकाशित मिति : १ फाल्गुन २०८०, मंगलबार ००:००  १० : ५६ बजे