२२ बैशाख २०८१, शनिबार | Sat May 4 2024

झापाका सहकारीमा चोरीधन्दा चलाउने गिरोह पक्राउ



बिर्तामोड-मकवानपुरदेखि झापा आएर सहकारीमा चोरीधन्दा चलाउने एउटा गिरोहलाई प्रहरीले पक्राउ गरेको छ । झापाका विभिन्न सहकारी संस्थामा श्रृङ्खलाबद्ध रूपमा चोरी गरेको अभियोगमा मकवानपुरका ६ युवक एकैपटक पक्राउ परेका हुन् ।

सहकारी चोरीमा संलग्न गिरोहलाई सुनसरीको इटहरीबाट पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय झापाले जनाएको छ । झापा प्रहरीका प्रवक्ता डीएसपी कृष्णबहादुर चन्दले सहकारी चोरीका विभिन्न १३ वटा घटनामा उनीहरूको संलग्नता रहेको बताए ।

प्रदेश प्रहरी कार्यालय सँगको समन्वयमा उनीहरूलाई पक्राउ गरिएको हो । पक्राउ पर्नेमा मकवानपुर इन्द्रसरोवर गाउँपालिका फाखेलका सोमलाल स्याङतान, सन्तबहादुर स्याङतान, सुनिल स्याङतान, बुद्ध स्याङतान, अजय राना मगर र सुजन स्याङतान रहेका छन् ।

पक्राउ परेका सबै युवक ३० वर्ष मुनिका छन् । प्रहरीले उनीहरुले प्रयोग गरेको दुई थान मोटरसाइकलसहित चोरीमा प्रयोग भएका सामग्री समेत बरामद गरेको छ ।

प्रहरीका अनुसार पक्राउ परेको गिराेहकाे अग्रसरतामा सहकारी संस्थाबाट ३० लाख १६ हजार रुपैयाँ चोरी भएको थियो ।

चोरी कसुरमा उनीहरू विरुद्ध अदालतबाट पाँच दिन म्याद थप गरी अनुसन्धान अगाडि बढाइएको डीएसपी चन्दले जानकारी दिए ।

प्रकाशित मिति : ९ बैशाख २०८१, आइतबार ००:००  ८ : २२ बजे