झापा-आन्तरिक उत्पादनको ठूलो हिस्सा भारत निर्यात हुन थालेपछि स्थानीय बजारमा टमाटर अभाव हुन थालेको छ ।
व्यवसायीले उच्च मूल्य पाएको जनाउँदै नेपाली उत्पादन धमाधम भारत निकासी गर्न थालेपछि पूर्वी नेपालका बजारमा टमाटर अभावसँगै मूल्य पनि आकासिएको छ ।
एक महिनायता श्रृङ्खलावद्ध रुपमा भाउ बढ्नुको मुख्य कारण नेपालमा उत्पादित टमाटर भारत निकासी हुनु हो ।
व्यवसायीका अनुसार वैध र अवैध दुवै बाटो भएर नेपाली उत्पादन सीमावर्ती भारतीय बजारमा गइरहेको छ । खुला सीमाका कारण सीमावर्ती भारतीय बजारमा नेपालमा उत्पादित टमाटर निर्वाध रुपमा बिक्री भइरहेको हो ।
नेपाली उत्पादनको भारत निकासी बढ्दा स्थानीय बजारले अभाव झेल्नु परेको छ, जसका कारण बजारमा टमाटरको भाउ छोइसक्नु छैन् ।
भारतमा प्रतिकिलो दुई सय रुपैयाँ भाररुमा नेपाली टमाटर बिक्री भइरहेको तरकारी व्यवसायी भूषण साहले बताए । झापाको बिर्तामोडस्थित कृषि उपज बजार व्यवस्थापन समितिका अनुसार एक महिनायता टमाटरको भाउ ६ पटक बढेको छ ।
समितिकी तथ्याङ्क संकलक माया राजवंशीले असारको दोस्रो साता प्रतिकिलो २५ देखि ४० रुपैयाँमा बिक्री भइरहेको टमाटरले साउन अन्तिम सातासम्म आइपुग्दा प्रतिकिलो दुई सय रुपैयाँको बजार भाउ कायम गरेको बताइन् ।
नेपाल भारत बीचको खुला सीमाका कारण अवैध व्यापार नरोकिएको परिस्थितिमा भारतीय बजारमा टमाटरको उच्च भाउ पाएका व्यवसायी जसरी पनि निर्यात गर्ने पक्षमा छन् ।
अघिल्लो वर्ष फालाफाल हुँदा टमाटर कुहेको बताउँदै व्यवसायी सन्देश साहले भारत निकासी गर्न पाउँदा खुशी लागेको बताए ।
कृषि मन्त्रालयका अनुसार साउन २८ गते सम्ममा काँकडभिट्टा र भैरहवा नाकाबाट गरी करिव ३० मेट्रिक टन गोलभेँडा निर्यात भएको छ ।
अवैध बाटोबाट भारत जाने परिमाण थाहा नभए पनि मेची भन्सार नाका भएर दैनिक टमाटर निकासी भइरहेको छ । मेची भन्सार कार्यालय काँकडभिट्टाका प्रमुख भन्सार अधिकृत रामप्रसाद रेग्मीले दैनिक दुई गाडी टमाटर भारत निकासी भइरहेको बताए ।
हाट बजारमा टमाटरको भाउ बढेपछि उपभोक्ता महंगीको मारमा परेका छन् । स्थानीय उपभोक्ता लक्ष्मीप्रसाद घिमिरे भन्छन्, ‘भान्सामा टमाटर प्रयोग गर्नै पर्छ भन्ने बाध्यता छैन् । यो अनिवार्य आवश्यकताको चीज होइन । अनिवार्य आवश्यकताका रुपमा नबुझ्ने हो भने कुनै पनि उत्पादनको बजार मूल्य अनियन्त्रित हुँदैन् ।’
भारतले नेपालबाट टमाटर आयात खुला गरे पनि विराटनगर नाकाबाट निर्यात नभएको विराटनगर भन्सार कार्यालयले जनाएको छ । भन्सार अधिकारीहरु अवैध बाटोबाट भने टमाटर भारत गइरहेको आशंका गर्छन् ।
मोरङ, सुनसरी, धनकुटा र तेह्रथुममा उत्पादित टमाटरको मुख्य बजार विराटनगर हो । विराटनगर भन्सारका सूचना अधिकारी परशुराम दाहालले यो नाकाबाट हालसम्म टमाटर निकासी नभएको बताए ।
वीरगन्जका प्रमुख भन्सार अधिकृत राजेन्द्र ढुंगानाका अनुसार साउन २२ गतेदेखि टमाटर निर्यात सुरु छ । वीरगन्जबाट दिनमा ४० टन हाराहारीमा टमाटर निर्यात भइरहेको छ ।