१७ बैशाख २०८१, सोमबार | Tue Apr 30 2024

कोशी सरकार परिवर्तनका विषयमा बाक्लो छलफल



मोरङ– कोशी प्रदेश सरकार परिवर्तनका विषयमा नेकपा एमाले र नेकपा माओवादी केन्द्र बीचको छलफल बाक्लो भएको छ । मुख्यमन्त्री केदार कार्की नेतृत्वको सरकार परिवर्तन गर्ने गरी एमाले र माओवादी छलफलमा जुटेका हुन्।

आइतबार दुई पार्टीको संसदीय दलका नेता हिक्मत कुमार कार्की र इन्द्रबहादुर आङ्बोबीच छुट्टाछुट्टै छलफल भएको छ । शुक्रबार पनि यी दुई सरकार फेरबदलका विषयमा छलफल भएको थियो ।

मूलत एमाले र माओवादी बीचको छलफल सरकार परिवर्तनका लागि चाल्ने कदमका विषयमा केन्द्रित छ । आलोपालो सरकार सञ्चालन, बजेट नीति तथा कार्यक्रम, राजनीतिक नियुक्ति र संसदीय समितिको सभापति चयन लगायतका विषयमा पनि यी दलबीच छलफल भएको छ ।

नेकपा एमाले संसदीय दलका प्रमुख सचेतक रेवती रमण भण्डारीले दलहरूबीच सरकार परिवर्तनका विषयमा बिना सर्त छलफल भइरहेको जानकारी दिए ।

मुख्यमन्त्री कार्कीले भने आफूले राजीनामा पनि नदिने र विश्वासको मत पनि नलिने सार्वजनिक रूपमा बताइसकेका छन् । उनी एमालेको जोडबलमा मुख्यमन्त्री भएका थिए ।

केन्द्रमा भएको सत्ता फेरबदलको प्रभाव कोशी प्रदेशमा पनि परिरहँदा नेतृत्व भने एमालेले पाउने सहमति छ । सहमति अनुसार प्रादेशिक तहमा धमाधम नयाँ सरकार बनिरहेका छन् ‌।

प्रकाशित मिति : २६ चैत्र २०८०, सोमबार ००:००  ८ : २७ बजे