५ आश्विन २०८०, शुक्रबार | Fri Sep 22 2023

‘उपभोक्ताको मन जितेको छु । अब मतले चुनाव जित्छु’



बिर्तामोड साना सहरी खानेपानी तथा सरसफाई उपभोक्ता संस्थाको निर्वाचनमा मैले अध्यक्षमा उमेद्वारी दिएको छु । जेठ १५ गतेका लागि निर्वाचनको मिति तोकिएको छ ।

अहिले उपभोक्ता मतदातासँग भोट माग्दै हिँडिरहेको छु । सबैको घरमा पुग्ने मेरो प्रयास छ । यद्यपि, सबै ठाउँमा आउन सकिन भने पनि मेरा शुभेच्छुक मतदातालाई मेरो आग्रह छ, मेघराजले गरेको योगदानलाई एकपटक सम्झिदिनोस् ।

निर्वाचन हो, पार्टी र समूह हुन्छन्, हुँदा रहेछन् । अहिलेसम्म हामीले त्यही अभ्यास गरेका छौँ । यो अभ्यासले अहिलेसम्म बिर्तामोड खानेपानीलाई बलियो र उपभोक्ताको हितमा लाग्न प्रेरित गरेको छ ।

विगतमा जस्तै राप्रपासँग सांगठनिक नेतृत्वका लागि चुनावी तालमेल गरेका छौँ । राप्रपा सँगको सहकार्य विश्वास र भरोसाको जगमा उभिएर इमान्दारीपूर्वक पालना गर्ने गराउनेमा हामी प्रतिवद्ध छौँ । म हिजो पनि खानेपानीमा थिएँ ।

एक कार्यकाल सदस्य भएर काम गरेँ । त्यो सिक्ने बेला थियो । थप दुई कार्यकाल सचिवको जिम्मेवारीमा रहेर महत्वपूर्ण भूमिका निर्वाह गरेको छु । यस विषयमा सबै उपभोक्ता जानकार हुनुहुन्छ ।

हिजो हामीले गरेको प्रयास र प्रयत्नले बिर्तामोडका सबै उपभोक्ताको धारामा पानी आउने परिस्थिति सिर्जना भएको छ । खानेपानीको गुणस्तर सुधार, विस्तार र प्रवद्र्धनमा हामी दृढतापूर्वक लाग्ने कुरामा फेरि पनि प्रतिवद्ध छौँ ।

दुई कार्यकाल सचिव भएर काम गरिरहँदा अब बिर्तामोड खानेपानीको नेतृत्व लिन सक्छु भन्ने लागेर अध्यक्षमा उमेद्वारी दिएको छु । मेरो हिजोको योगदानलाई सम्झेर भोलिका लागि नेतृत्वमा स्थापित गर्नु हुनेछ भन्ने मेरो आशा हो ।

संस्था र उपभोक्ताको हितमा मैले हिजो पनि काम गरेको थिएँ । आज पनि गरेको छु । भोलि पनि गर्छु । मेरो चुनाव जित्ने मुख्य आधार भनेको उपभोक्ताको विश्वास र हिजोको मेरो सक्रियता हो । उपभोक्ताको मन जितेको छु । अब मतले म चुनाव जित्छु ।

२४ घण्टा उपभोक्ताको धारामा पानी आउनु पर्छ भन्ने मेरो मान्यता हो । यसका लागि म अहोरात्र खट्न तयार छु । खानेपानीका संस्थापक अध्यक्ष टोरुप प्रसाई र वर्तमान अध्यक्ष जलकुमार गुरुङले गरेका कामलाई निरन्तरता दिँदै जानु मेरा कर्तव्य हुनेछ ।

बिर्तामोड खानेपानीले नगर विकास कोषवाट सन् २०१८ र २०२२ मा गरी दुई पटक देशको नमूना खानेपानी संस्थाको रुपमा अर्वाड जितेको छ । त्यो गरिमा उचाईलाई कायम राख्नु पनि मेरो कर्तव्य हो ।

उपभोक्ताको घरमा स्वच्छ सफा पानी जाने वातावरण मिलाउने विषयमा हामी र हाम्रो टीम बढी संवेदनशील छ । यो दायित्व पहिलो सर्त पनि हो । किने भने पानीको गुणस्तरका विषयमा कुनै सम्झौता हुँदैन् ।

हामी उपभोक्तालाई गुणस्तरीय र मापदण्ड अनुरुपको पानी उपलब्ध गराउन सधैँ तयार छौँ । त्यसमा हाम्रो जोडबल रहन्छ । पाइप लाइनमा यदाकदा देखिने समस्याका विषममा पनि म जानकार छु । तत्काल समाधान गर्ने तर्फ सधैँ मेरो प्रयास छ ।

तीव्र सहरीकरणको चपेटामा परेको बिर्तामोडलाई पर्याप्त पानी उपलब्ध गराउनु मेरो अर्को ठूलो दायित्व र चुनौति हुनेछ । हिजोको अनुभवले ती सबै चुनौतिको सामना गर्दै अगाडि बढ्न सक्छु भन्ने मलाई विश्वास छ ।

मेरो विश्वासमा थप उर्जा भर्ने काम आम उपभोक्ता मतदाताको हो । आयोजनाको विस्तारका लागि पनि केही योजना छन् । तिनलाई अगाडि बढाउन सकिन्छ । मेरो नेतृत्वमा ती योजना अगाडि बढ्छन् । खानेपानीको अहिलेको क्षमता बढाउनु अनिवार्य आवश्यकता बन्दै गएको छ ।

कहिँलेकाहीँ पानी चुहावट हुने समस्या पनि आउँछ । यसले संस्थालाई घाटा हुन्छ । यसमा म ज्यादै संवेदनशील छु । पानीलाई खेर जान दिनु हुँदैन् । यसमा सबै सचेत हुनुपर्छ ।

खानेपानीको यावत समस्या र त्यसको निदानको उपायसहितको एउटा अनुभव बटुलेर मैले नेतृत्वमा दावी गरेको हो । बिना स्वार्थ काम गर्न सक्ने व्यवस्थापकीय क्षमतामा म आफूलाई अब्बल सावित गर्न सक्छु भन्नेमा विश्वस्त छु ।

अहिले मैले आशा गर्ने भनेको तपाई सबै उपभोक्ताको मत हो । तपाईको मतको कदर गर्न म प्रतिवद्ध छु । एकपटक जिम्मेवारी दिएर हेर्नुस्, पछुताउनु पर्ने छैन्, मेरो यही अपिल मतदातासँग छ ।
(कुराकानीमा आधारित)

प्रकाशित मिति : १२ जेष्ठ २०८०, शुक्रबार ००:००  १० : १२ बजे