९ भाद्र २०८३, मंगलबार | Tue Aug 25 2026

झापाको शर्मा परिवारलाई राष्ट्रपतिले पठाए समवेदना सन्देश



झापा- राष्ट्रपति रामचन्द्र पौडेलले प्रजातान्त्रिक आन्दोलनका योद्धा एवम् प्रजातन्त्र सेनानी पूर्णानन्द शर्मा दाहालका परिवारलाई समवेदना सन्देश पठाएका छन् ।

राष्ट्रपति पौडेलले झापाका प्रमुख जिल्ला अधिकारी शिवराम पोखरेलमार्फत समवेदना सन्देश पठाएका हुन् । राष्ट्रपति पौडेलकी कान्छी छोरी अवज्ञा पौडेलका साथमा प्रजिअ पोखरेलले शर्माको निवासमा पुगेर समवेदना सन्देश हस्तान्तरण गरेका छन् ।

राष्ट्रपति पौडेलले पठाएको समवेदना सन्देशमा भनिएको छ–‘लोकतन्त्रका लागि भएका आन्दोलनमा पटक–पटक सहभागी भएर जेलनेल र यातना भोग्नुभएका पूर्णानन्दजी एक निष्ठावान, सिद्धान्तनिष्ठ र असल नेता हुनुहुन्थ्यो । लोकतन्त्रप्रति समर्पित पूर्णानन्दजीको निधनले लोकतान्त्रिक आन्दोलनलाई अपुरणीय क्षति भएको मैले महशुस गरेको छु ।’

राष्ट्रपति पौडेलले पञ्चायतको कठिन समयमा २०२७ सालमा नेपाल विद्यार्थी संघको पूर्वाञ्चलमा संगठन विस्तारका क्रममा तत्कालीन अवस्थामा दमक हाइस्कूलको प्रधानाध्यापक रहेका पूर्णानन्द शर्माले गरेको सहयोगको स्मरण पनि गरेका छन् ।

झापाको कमल गाउँपालिका वडा नं– ६ मा स्थायी रूपमा बस्दै आएका शर्माको सोमबार साँझ उपचारको क्रममा निधन भएको थियो । प्रजातन्त्रका लागि भएको आन्दोलनको क्रममा विभिन्न समयमा पक्राउ परेका उनले पाँच वर्षभन्दा बढी जेलजीवन बिताएका थिए ।

प्रकाशित मिति : १५ मंसिर २०८०, शुक्रबार ००:००  १ : ५९ बजे