१० जेष्ठ २०८२, शुक्रबार | Fri May 23 2025

बिर्तामोडमा जारी ब्याडमिन्टन प्रतियोगिताको सेमिफाइनल समीकरण पूरा



बिर्तामोड– झापाको बिर्तामोडमा जारी पाँचौँ संस्करणको राष्ट्रिय पुरुष खुला तथा भेट्रान्स ब्याडमिन्टन प्रतियोगिताको सेमिफाइनल समीकरण सकिएको छ । बिर्तामोडको मेहरमान बहुउद्देश्यीय कबर्ड हलमा आइतवार भएको खेलमा क्वार्टर फाइनलको प्रतिस्पर्धा सकिएको हो ।

माघ २९ गते फाइनल हुनेछ । आयोजक लायन्स क्लब अफ अनारमनीका पूर्वअध्यक्ष शैलेन्द्र कुरुङबाङका अनुसार खुला डबल्स र खुला भेट्रान्स डबल्स गरी दुई विधामा सञ्चालन भइरहेको छ ।

प्रतियोगिताअन्तर्गत खुला भेट्रान्स डबल्सको फाइनल प्रवेशका लागि प्रेम गुरुङ र सञ्जय कपालीको जोडीले दीपक आङदेम्बे र जीवन बोगटीको जोडीसँग प्रतिस्पर्धा गर्नेछ । घनेन्द्र लिम्बू र मदन लिम्बूको जोडीले कृष्ण खड्का र विष्णु तामाङको जोडीको सामना गर्नेछ ।

खुला डबल्सतर्फ निश्चल क्षेत्री र पविन लिङथेपको जोडीले विनय चौधरी र लाक्पा शेर्पाको जोडीसँग फाइनल प्रवेशका लागि खेल्नेछ । हिमाल चन्द र विवेक कन्दङवाको जोडीले भोजबहादुर गुरुङ र विशाल तामाङको जोडीसँग दोस्रो सेमिफाइनल खेल खेल्नेछ ।

प्रतियोगिताका खुलातर्फका विजेताले नगद ७० हजार रुपैयाँ, ट्रफी र मेडल पाउने लायन्स क्लब इन्टरनेसनल डिस्ट्रिक्ट २५ सिका वातावरण प्रमुख समेत रहेका कुरुङबाङले जानकारी दिए ।

दोस्रो हुनेले नगद ४० हजार र तेस्रो हुनेले नगद १० हजार, ट्रफी र मेडल प्राप्त गर्ने छन् । भेट्रान्सतर्फका विजेताले नगद ३० हजार रुपैयाँ, ट्रफी र मेडल पाउँदा दोस्रो हुनेले नगद १५ हजार रुपैयाँ, ट्रफी र मेडल तथा तेस्रो हुनेले नगद ५ हजार रुपैयाँ, ट्रफी र मेडल पाउने छन् ।

प्रकाशित मिति : २८ माघ २०८०, आइतबार ००:००  ८ : ५८ बजे