१५ बैशाख २०८१, शनिबार | Sat Apr 27 2024

महासचिवका उम्मेदवार पौडेल भन्छन्, ‘व्यवसायीको पक्षमा जाेखिम मोल्न तयार छु।’



बिर्तामोड-सामाजिक संघसंस्थामा बसेर त्यसको नेतृत्वदायी भूमिका निर्वाह गरेको एउटा अनुभवी व्यावसायिक व्यक्तित्वका रुपमा कृष्ण पौडेल परिचित छन् ।

बिर्तामोडको उद्योग वाणिज्य क्षेत्रमा निरन्तर व्यावसायिक हितको पक्षमा उभिने मध्येका एक हुन् पौडेल । बिर्तामोड उद्योग वाणिज्य सङ्घमा हाल वाणिज्य सचिव रहेका पौडेल आसन्न निर्वाचनमा महासचिवको एउटा दरिलो उम्मेदवारका रुपमा चुनावी मैदानमा छन् ।

स्वतन्त्र व्यावसायिक प्यानलबाट प्रतिस्पर्धामा उत्रिएका पौडेल व्यावसायिक क्षेत्रले नयाँ गन्तव्य तय गर्ने बेला आइसकेको बताउँछन् । बढ्दो वित्तीय संकट र त्यसको प्रत्यक्ष प्रभावका बीच व्यवसायीलाई कसरी राहत दिन सकिन्छ भन्ने विषयमा उनले निरन्तर वकालत गर्दै आएका छन् ।

सामाजिक संघसंस्थाको नेतृत्वमा उनले दुई दशकभन्दा बढी समय बिताइसके । औषधि व्यवसायी सङ्घ झापाको नेतृत्वदायी भूमिकामा उनको तीन कार्यकाल बितिसकेको छ।

त्यसो त धौलागिरी पारिजात बहुउद्देश्यीय सहकारी संस्थाको अध्यक्षका रूपमा उनले १६ वर्ष काम गरे । लायन्स क्लब अफ अनारमनीका संस्थापक अध्यक्ष पौडेल सामाजिक संघसंस्थाको समेत अनुभव बटुलेर सङ्घको गरिमामय महासचिव पदमा आफ्नो दावेदारी प्रस्तुत गरिरहेका छन् ।

जिल्ला सहकारी सङ्घका सञ्चालक समेत रहेका उनी बिर्तामोड उद्योग वाणिज्य सङ्घको वर्तमान नेतृत्वले व्यावसायिक हितका क्षेत्रमा पर्याप्त काम गर्न नसकेको जिकिर गर्छन् ।

व्यवसायीका अनेक पीरमर्का बुझ्न सक्ने नेतृत्व संघमा जानुपर्ने बताउँदै आएका पौडेल सङ्घभित्र अनेक बेथिति बढेको बताउँछन् ।

वित्तीय सङ्कटको यो बदलिदो परिस्थितिमा सबै चुनौतीलाई सामना गरेर जानसक्ने दृढ अठोटका कारण आफूले महासचिवमा उम्मेदवारी दिएको पौडेलले सुनाए ।

‘व्यवसायीका नीतिगत समस्या बुझेर समाधानका लागि पहलकदमी लिन सक्ने सामर्थ्य मसँग छ’, महासचिवका दावेदार पौडेलले चिया गफमा सुनाए ।

अर्को महत्वपूर्ण पाटोका रूपमा उनले स्थानीय सरकारसँगको समन्वयलाई बुझेका छन् । स्थानीय सरकारसँग सहकार्य गर्न सके व्यावसायिक क्षेत्रका आधाभन्दा बढी समस्या समाधान हुने महासचिवका उम्मेदवार पौडेलको दाबी छ।

व्यवसायीका मुद्दामा निरन्तर बहस र पैरवी गर्न सक्ने हो भने बिर्तामोडका धेरै व्यवसायीले थिचोमिचो सहनु नपर्ने पौडेलले बताए । उनले भने, ‘व्यवसायीको पक्षमा सबै किसिमका जोखिम मोल्न तयार छु।’

पौडेलको नेतृत्वमा बिर्तामोडमा अहिले नागरिक अस्पतालको निर्माण कार्य पनि अगाडि बढिरहेको छ ।

प्रकाशित मिति : १ फाल्गुन २०८०, मंगलबार ००:००  ९ : ५३ बजे