१५ बैशाख २०८१, शनिबार | Sat Apr 27 2024

सिटौला राष्ट्रिय सभामा कांग्रेस संसदीय दलको नेता



झापा-नेपाली कांग्रेसका नेता कृष्णप्रसाद सिटौला राष्ट्रिय सभा संसदीय दलको नेतामा मनोनित भएका छन् । कांग्रेस सभापति एवम् संसदीय दलका नेता शेरबहादुर देउवाले शनिबार सिटौलालाई राष्ट्रिय सभा संसदीय दलको नेतामा मनोनित गरेका हुन् ।

झापा क्षेत्र नम्बर ३ मा भएको प्रतिनिधिसभा निर्वाचनमा पराजित भएपछि सिटौलाको राजनीतिक निष्क्रियता बढ्ने अनुमान गरिएको थियो । तर, अध्यक्ष बनाउने चर्चाका बीच कांग्रेसले उनलाई राष्ट्रिय सभामा पठाएको हो ।

सभापति देउवा निकट स्रोतका अनुसार नेपाली कांग्रेसले राष्ट्रिय सभाको अध्यक्षमा उम्मेदवारी दिने भएको छ । देउवा निवास बुढानीलकण्ठमा शनिबार बसेको पदाधिकारी बैठकले यस्तो निर्णय गरेको हो ।

नेकपा माओवादी केन्द्रसँग सत्ता साझेदारी गरिरहेको नेपाली कांग्रेस गठबन्धन भत्किएपछि राष्ट्रिय सभामा कसलाई अध्यक्ष बनाउने भन्ने अन्योलमा छ । राष्ट्रिय सभाको रिक्त अध्यक्ष पदमा फागुन २९ गते निर्वाचन हुँदैछ ।

प्रकाशित मिति : २६ फाल्गुन २०८०, शनिबार ००:००  ८ : ४९ बजे