झापा- बिर्तामोड नगरपालिकाले वडा नम्बर ७ मा जनता आवास कार्यक्रम अन्तर्गत बनेका घरको अनुगमन गरेको छ । नगर उपप्रमुख नगेन्द्रप्रसाद संग्रौला, नगरका लेखा प्रमुख तेजेन्द्र तामाङ, उपभोक्ता समितिका अध्यक्ष बद्री प्याकुरेल लगायतको टोलीले घरको अनुगमन गरेको हो ।
यस वडामा ६ वटा घर निर्माणका लागि गत आर्थिक वर्षमा छुट्टिएको बजेटबाट बनेका घरको अनुगमन गरिएको नगर उपप्रमुख नगेन्द्रप्रसाद संग्रौलाले बताए । प्रतिघर २ लाख २० हजारका दरले जम्मा १३ लाख २० हजार रुपैयाँमा छ वटा घर निर्माणका लागि बजेट छुट्टिएको थियो ।
तर,निर्माणका क्रममा नगरले दिएको बजेटको अतिरिक्त रकम घरधनी आफैँले थप गरेरसमेत घर निर्माण गरिएकोले फरक फरक ढंगका घरहरु निर्माण भएको उपभोक्ता समितिका अध्यक्ष बद्री प्याकुरेलले बताए ।
वडाका कर्ण बहादुर शेर्मा, प्रेमाकुमारी सार्की, शोवी सार्की, उमा दाहाल, मञ्जु सोरेन र धनमाया निरौलाको घर निर्माण गरिएको हो ।
नगर उपप्रमुख संग्रौलाले बिर्तामोड नगरपालिकाभित्र विगत पाँच वर्ष यता जनता आवास कार्यक्रम अन्तर्गत छ सय वटा भन्दाबढी घरहरु निर्माण भएको जानकारी दिए । उनले चालु आर्थिक वर्षमा समेत सहारा नेपाल र ह्वयावीट्याट नेपालसँगको सहकार्यमा घर निर्माण हुने बताए ।