१७ मंसिर २०८०, आइतबार | Mon Dec 4 2023

झापा ११ ले उचाल्यो एकता स्पोर्टिङ गोल्डकप फुटबल प्रतियोगिताको उपाधि




बिर्तामोड–मोफसलको चर्चित फुटबल टोली झापा ११ एफसीले दोस्रो संस्करणको एकता स्पोर्टिङ गोल्डकप फुटबल प्रतियोगिताको उपाधि उचालेको छ –

बिर्तामोड २ बेलडाँगीस्थित वीर अमरसिंह माध्यमिक विद्यालयको मैदानमा शुक्रवार सम्पन्न फाइनल खेलमा अर्को उत्कृष्ट टोली झापा एफसीलाई २–० गोल अन्तरले हराउँदै झापा ११ ले उपाधि रक्षा गरेको हो ।

जितसँगै झापा ११ ले नगद १ लाख ११ हजार १११ ट्रफी, मेडल र प्रमाणपत्र पायो भने उपविजेतामा सीमित झापा एफसीले ५५ हजार ५५५ रुपैयाँ, ट्रफी, मेडल र प्रमाणपत्रमा चित्त बुझाएको छ ।

प्रतियोगितामा झापा ११ का खेलाडीले विधागत पुरस्कार जितेका छन् । उत्कृष्ट गोलकिपर सन्दीप लिम्बू, उत्कृष्ट डिफेन्डर सुमन मगर, उत्कृष्ट मिड फिल्डर झापा एफसीका आयुष श्रेष्ठ, उत्कृष्ट फरवार्ड बबिन बोहोरा, उच्च गोलकर्ता प्रदीप बुढाथोकी र उत्कृष्ट प्रशिक्षक पेम्बु गुरुङ घोािष्त भएका छन् । उनीहरुलाई नगद ३ हजार रुपैयाँ र ट्रफी प्रदान गरिएको छ ।

विजेता तथा उपविजेतालाई प्रमुख अतिथि झापाका सहायक प्रमुख जिल्ला अधिकारी रुद्रप्रसाद न्यौपाने, झापा ११ का अध्यक्ष जलकुमार गुरुङ, आयोजक क्लबका अध्यक्ष किरण पौडेल लगायतले पुरस्कार वितरण गरेका थिए ।

फाइनल खेलको प्लेयर अफ द म्याच झापा ११ दुई गोलकर्ता बबिन बोहोरा भए । उनले नगद तीन हजार प्राप्त गरे ।

प्रतियोगितामा झापाका आठवटा क्लबहरूले सहभागिता रहेको थियो । झापा ११ एफसी, बाहुनडाँगी एफसी, बुट्टाबारी युनाइटेड, झापा एफसी राजगढ, सैनिक एफसी, नव प्रतिभा युवा क्लव, ब्रदर्श युनाइटेड र आयोजक एकता स्पोर्टिङ क्लबले प्रतियोगितामा भाग लिएको प्राविधिक समिति संयोजक माधव खरेलले जानकारी दिए ।

प्रकाशित मिति : ४ कार्तिक २०८०, शनिबार ००:००  ८ : १४ बजे