काँकडभिट्टा- आफ्नै करेसा बारीमा प्रशस्त फलाउन सकिने फर्सीमा पनि नेपालले भारतको भर पर्नु परेको तथ्य खुलेको छ । भारतबाट आयात भएको फर्सीको अपत्यारिलो तथ्याङ्कले भारतमाथि नेपालको थप परनिर्भरता पुष्टि गरेको हो ।
पूर्वी नाका काँकडभिट्टा हुँदै गत आर्थिक वर्षमा सात करोड ५७ लाख २८ हजार मूल्यको चारहजार सातसय ३३ मेट्रिक टन फर्सी आयात भएको छ ।
आफ्नै वारीमा फलाउन सकिने फर्सी पनि भारतबाट किनेर ल्याउनु पर्ने नेपालीको बाध्यता विडम्वनाको विषय भएको सरकारी अधिकारी बताउँछन् ।
पूर्वी पहाडी जिल्लामा फालाफाल उत्पादन हुने फर्सी नबिकेर किसानहरू गाईभैँसीलाई खोले पकाएर खुवाउँछन् । तर, बजारमा भने भारतबाट ठूलो मात्रामा फर्सी आयात हुने गरेको देखिएको छ ।
स्थानीय उत्पादनलाई बजारसम्म लैजान नसक्दा वर्सेनि करोडौँ रुपैयाँ बाहिरिने गरेको छ ।