१५ बैशाख २०८१, शनिबार | Sat Apr 27 2024

सुपारी निकासीका विषयमा संसदीय समितिको चासो



झापा-नेपालमा उत्पादित सुपारीको निकासीका विषयमा संसदीय समितिले चासो देखाएको छ । विभिन्न तीनवटा संसदीय समितिले संयुक्तरुपमा यसप्रति चासो राखेका हुन् ।

कृषि, सहकारी तथा प्राकृतिक स्रोत समिति, उद्योग तथा वाणिज्य र श्रम तथा उपभोक्ता हित समिति र अर्थ समिति सुपारी निर्यातका विषयमा छलफलका लागि तयार भएका छन् । यद्यपि, छलफलको मिति भने तय भएको छैन् ।

‘नेपालमा उत्पादन भएको सुपारी विदेश निकासी गर्ने अनुमतिका लागि सम्बन्धित मन्त्रालयमा आवश्यक निर्देशन गरी पाँऊ भनी नेपाल सुपारी खेती विकास संस्थाले दिएकोनिवेदनका आधारमा संसदीय समितिको ध्यानाकर्षण भएको हो ।

कृषि समिति र उद्योग समितिले यसअगाडि यस विषयमा बैठक राखेर छुट्टाछुट्टै रुपमा सरोकारवाला पक्षसँग छलफल गरेका थिए । तर, अझै निष्कर्ष निस्किन सकेको छैन् ।

उद्योग, वाणिज्य तथा आपूर्तिमन्त्री रमेश रिजालका अनुसार अहिले नेपालमा उत्पादित सुपारी निर्यातको वैधानिक बाटो बन्द छ । निर्यातका लागि उत्पत्ति प्रमाणपत्र दिइएको छैन । तर, सुपारीको प्रयोग गर्ने नेपाली उद्योगलाई आयातको अनुमति दिइएको छ ।

असोज १७ गते प्रतिनिधिसभाको उद्योग समितिमा भएको छलफलमा सहभागी उद्योगमन्त्री रिजालले नेपालको सुपारी निर्यातका लागि सहजीकरण गर्न पहल गर्ने बताएका थिए ।

प्रकाशित मिति : २९ आश्विन २०८०, सोमबार ००:००  ८ : १० बजे