बिर्तामोड-युवा व्यवसायी मनोज निरौला प्रदीपले इलाम क्षेत्र नम्बर २ मा स्वतन्त्र रुपमा उम्मेदवारी दिने घोषणा गरेका छन् । बिहीबार बिर्तामोडमा पत्रकार सम्मेलन गरी निरौलाले उपनिर्वाचनमा आफूले उम्मेदवारी दिन लागेको जनाएका हुन् ।
इलाम क्षेत्र नम्बर २ मा निर्वाचन आयोगले वैशाख १५ मा उपनिर्वाचन गर्ने तयारी गरेको छ । आयोगको तयारीका बीच विभिन्न दलले उक्त क्षेत्रमा धमाधम आफ्नो उम्मेदवारी घोषणा गरिरहेका छन् । कतिपय दल प्रचारात्मक अभियानमा छन् ।
पर्यटकीय सम्भावनाको अथाह खानीका रूपमा रहेको इलामको विकास र प्रवर्द्धनमा आफ्नो ऊर्जालाई खर्चिने मुख्य लक्ष्य राखेर उम्मेदवारी घोषणा गरेको निरौलाले बताए ।
युवाहरूको सीप तथा क्षमताको विकास गरी उक्त क्षेत्रमा रोजगारीका अवसरहरू सिर्जना गर्ने र युवालाई आयआर्जनका काममा सहभागी गराउने दीर्घकालीन रणनीति पनि आफूसँग रहेको उम्मेदवार निरौलाले बताए ।