काठमाडौँ– जेठ महिनामा ६१ हजारभन्दा बढी नेपाली वैदेशिक रोजगारीका लागि विदेशिएका छन् । वैदेशिक रोजगार विभागका अनुसार उक्त अवधिमा ६१ हजार ७२ जनाले श्रम स्वीकृति लिएका छन् ।
विभागको तथ्यांकअनुसार श्रम स्वीकृति लिनेमा ५३ हजार ६ सय ९८ पुरुष र ७ हजार ३ सय ७४ महिला छन् । अघिल्लो महिना वैशाखमा ७४ हजार ४ सय २९ जनाले श्रम स्वीकृति लिएका थिए ।
यस आधारमा जेठमा वैदेशिक रोजगारीमा जानेको संख्या १३ हजार ३ सय ५७ ले घटेको देखिएको छ । जेठमा म्यानपावर कम्पनीमार्फत १९ हजार ४ सय ५५ जनाले श्रम स्वीकृति लिएका छन् ।
व्यक्तिगत श्रम स्वीकृतिमार्फत ११ हजार ५ सय ३ जना तथा सरकार–सरकार (जीटुजी) प्रणालीमार्फत ६ सय ५२ जना विदेशिएका छन् ।यही अवधिमा २९ हजार ३ सय ७१ जनाले पुनः श्रम स्वीकृति लिएका छन् ।
गन्तव्य मुलुकमध्ये जेठमा सबैभन्दा धेरै नेपाली मलेसिया गएका छन्। मलेसियाका लागि ८ हजार १ सय ७९ जनाले श्रम स्वीकृति लिएका छन् ।
संयुक्त अरब इमिरेट्स (यूएई) का लागि ५ हजार ३ सय ९४, कतारका लागि २ हजार ८ सय ८३, साउदी अरेबियाका लागि २ हजार ५ सय ९८ र रोमानियाका लागि २ हजार १ सय २६ जनाले श्रम स्वीकृति लिएका छन् ।
वैशाखको तुलनामा जेठमा श्रम स्वीकृति लिनेको संख्या घटे पनि वैदेशिक रोजगारीप्रति नेपाली युवाको आकर्षण भने कायम रहेको तथ्यांकले देखाएको छ ।

















