१८ आश्विन २०८३, आइतबार | Mon Oct 5 2026

मिस्टर कञ्चनजंघा राष्ट्रिय शारीरिक सुगठनको तयारी पूरा



बिर्तामोड-कोशी प्रदेशमा पहिलोपटक राष्ट्रियस्तरको मिस्टर कञ्चनजंघा खुला शारीरिक सुगठन प्रतियोगिता हुने भएको छ । बडी ग्यारेज शारीरिक सुगठन क्लबले आयोजना गर्ने प्रतियोगिताको तेस्रो संस्करणको सम्पूर्ण तयारी पूरा भएको आयोजकले जनाएको छ ।

प्रतियोगिता यही असोज २० र २१ गते बिर्तामोडमा हुनेछ । पहिलो र दोस्रो संस्करण प्रदेशस्तरीय रूपमा आयोजना गरिएकामा यसपटकदेखि प्रतियोगितालाई राष्ट्रियस्तरमा विस्तार गरिएको हो । पुरुषतर्फ विभिन्न तौल समूहमा र महिलातर्फ खुला प्रतिस्पर्धा हुनेछ ।

तेस्रो संस्करण गतवर्ष भदौ २७ र २८ गते आयोजना गर्ने तयारी गरिएको थियो । तर, जेन्जी आन्दोलनका कारण प्रतियोगिता स्थगित भएको आयोजकले जनाएको छ । त्यतिबेला प्रतियोगिताका लागि आवश्यक तयारी पूरा भइसकेको थियो ।

आयोजक बडी ग्यारेजका सञ्चालक तथा कार्यक्रम संयोजक राम दाहालका अनुसार प्रतियोगिताको पहिलो दिन प्रिजजिङ र दोस्रो दिन फाइनल प्रतिस्पर्धा हुनेछ । पुरुषतर्फ ५५, ६०, ६५, ७०, ७५ र ७५ किलोभन्दा माथिका तौल समूहमा प्रतिस्पर्धा हुनेछ । महिलातर्फ भने खुला प्रतिस्पर्धा गराइनेछ ।

प्रतियोगिताको पुरुषतर्फको विजेताले पाँच लाख रुपैयाँ नगद पुरस्कार पाउनेछन् । अघिल्लो संस्करणमा विजेतालाई तीन लाख ११ हजार एक सय ११ रुपैयाँ पुरस्कार दिइएको थियो । यसपटक पुरस्कार राशि बढाएर पाँच लाख पुर्‍याइएको आयोजक समितिका अध्यक्ष पदम श्रेष्ठले बताए ।

दोस्रो हुनेले तीन लाख, तेस्रोले दुई लाख, चौथोले एक लाख, पाँचौँले ७५ हजार र छैटौँ हुने खेलाडीले ५० हजार रुपैयाँ नगद पुरस्कार पाउनेछन् ।

कोशी प्रदेशमा पहिलोपटक समावेश गरिएको महिला प्रतिस्पर्धामा विजेताले एक लाख, दोस्रोले ५० हजार र तेस्रो हुने खेलाडीले २५ हजार रुपैयाँ प्राप्त गर्नेछिन् ।

प्रत्येक पुरुष तौल समूहमा दोस्रो हुने खेलाडीलाई सात हजार र तेस्रो हुनेलाई पाँच हजार रुपैयाँ प्रदान गरिने कोषाध्यक्ष शारदा दाहालले जानकारी दिइन् । अन्य तीन खेलाडीलाई ट्रफी र मेडल प्रदान गरिनेछ ।

प्रतियोगिताका विजेताले प्राप्त गर्ने ट्रफी तथा मेडलको समेत एक कार्यक्रमबीच अनावरण गरिएको छ ।

प्रतियोगितामा देशभरबाट करिब दुई सय खेलाडी सहभागी हुने अपेक्षा गरिएको सचिव हिमाल खरेलले बताए । प्रतियोगिता सम्पन्न गर्न करिब ३५ लाख रुपैयाँ खर्च हुने आयोजकको अनुमान छ ।

यसअघिको दोस्रो संस्करणको उपाधि डिएनपी फिटनेस, गाईघाटका दिलिपकुमार चौधरीले जितेका थिए । ६५ किलो तौल समूहबाट सहभागी चौधरीले उपाधि हात पारेका थिए ।

अघिल्लो संस्करण कोशी प्रदेश खेलकुद विकास बोर्डको आयोजनामा भएको थियो । बडी ग्यारेजले संयोजन गरेको उक्त प्रतियोगिताका लागि बोर्डले १५ लाख रुपैयाँ सहयोग गरेको थियो ।

प्रकाशित मिति : १८ आश्विन २०८३, आइतबार ००:००  १ : २८ बजे