झापा- मोरङको मिक्लुङ सामुदायिक वनका तीन पदाधिकारीलाई भ्रष्टाचार मुद्दामा ६–६ महिना कैद सजाय सुनाइएको छ । विशेष अदालतले तीनजनालाई कैद सजायको फैसला सुनाएको हो ।
दुई वर्षअघिको मुद्दामा फैसला गर्दै दुई जनालाई भने अदालतले सफाइ दिएको छ । विशेषका अध्यक्ष श्रीकान्त पौडेल तथा सदस्यद्वय शालिग्राम कोइराला र बलभद्र बाँस्तोलाको इजलासबाट बुधबार यस्तो फैसला आएको हो ।
अख्तियार दुरुपयोग अनुसन्धान आयोगले ११ जेठ २०७९ मा मुद्दा चलाएको थियो । उपरजिस्ट्रार धनबहादुर कार्कीका अनुसार सन्तोषकुमार लावती, देविन्द्र कार्की र भीमा लम्सालमाथि भ्रष्टाचारको कसुर कायम भएको हो ।
लावती मिक्लुङ सामुदायिक वन उपभोक्ता समूहका तत्कालीन अध्यक्ष हुन् भने कार्की सचिव हुन् । लम्साल कोषाध्यक्ष थिइन् ।
कसुर ठहर हुने तीनैजनालाई जनही ६–६ महिना कैद र एक लाख तीन हजार रुपैयाँ भन्दाबढी रकम बिगो भराउने आदेश भएको उपरजिट्रार कार्कीले जानकारी दिए ।
समूहका पदाधिकारीहरूले वनको रकम हिनामिना गर्नुका साथै लेखापरीक्षक समेतको मिलेमतोमा वनलाई नोक्सानी पुर्याएको ठहर अख्तियारको थियो ।