झापा-खुला सीमाको फाइदा उठाउँदै भारतीय नागरिकले नेपालमा ल्याएर ब्राउन सुगर बेचिरहेका छन् । सीमावर्ती क्षेत्रमा भारतीय सुरक्षा निकायले आँखा चिम्लिँदा नेपाली युवाका लागि ब्राउन सुगरको कारोवार सहज भएको छ ।
झापाको काँकडभिट्टा, भद्रपुर र झापा गाउँपालिकाका सीमावर्ती नाकाबाट ब्राउन सुगर भित्रिरहेको प्रहरी तथ्याङ्कले पनि देखाएको छ ।
अहिले झापा गाउँपालिकाको सीमावर्ती क्षेत्रमा भएको कमजोर सुरक्षा उपस्थितिको फाइदा कारोवारीले उठाइरहेका छन् ।
प्रहरीले सोमवार मात्रै झापा गाउँपालिकाबाट एकजना भारतीय नागरिकलाई ब्राउन सुगरसहित समातेको छ । भारतको किसनगञ्ज महमारी धनतोला पञ्चायतका २६ वर्षीय असरफुल हक पक्राउ परेका हुन् ।
भारतबाट आउँदै गरेका हकलाई शंका लागेर चेकजाँच गर्दा उनको साथमा आठ ग्राम ५०० मिलिग्राम ब्राउन सुगर फेला परेको झापा प्रहरीका प्रवक्ता डीएसपी खगेन्द्रप्रसाद रिजालले बताए ।
इलाका प्रहरी कार्यालय कुमरखोदबाट खटिएको प्रहरी टोलीले झापा बजारबाट हकलाई पक्राउ गरेको हो ।
पाँच दिनअघि पनि भद्रपुर विमानस्थल क्षेत्रमा ब्राउन सुगर बेच्न आएका दुई महिलासहित तीन भारतीयलाई प्रहरीले १९७ ग्राम ८०० मिलिग्राम ब्राउन सुगरसहित पक्राउ गरेको थियो ।