१५ बैशाख २०८१, शनिबार | Sat Apr 27 2024

नेतृत्वले मात्रै भारी थाम्न सक्दैन्



सुब्रत न्यौपाने अध्यक्ष, पूर्व विद्यार्थी समाज कविशिरोमणि मावि

पूर्व विद्यार्थी समाज कविशिरोमणि माविको प्रथम वार्षिक साधारणसभामा उपस्थित सबैलाई समाजको अध्यक्षका तर्फबाट म हार्दिक स्वागत अभिवादन व्यक्त गर्दछु । यो साधारण सभामा उपस्थित भएर बोलिरहँदा हिजो विद्यालयमा बिताएका दिनहरूलाई मैले एकपटक स्मरण गर्ने मौका पाएँ ।

हिजो धुलौटे भुइँ र बाँसको टाँटीबाट अध्यापन सुरु गरेको यो विद्यालय आज भौतिक पूर्वाधारका हिसाबले सम्पन्न देखिएको छ । विद्यालयको संस्थागत विकास, शैक्षिक जागरण अभियान र दक्ष जनशक्ति उत्पादनका लागि अग्रजले निर्वाह गर्नुभएको भूमिका, त्याग र समर्पणको पूर्व विद्यार्थी समाज खुलेर प्रशंसा गर्दछ । उहाँहरूको अथक मेहनत र परिश्रमले मात्रै यो विद्यालय आजको अवस्थासम्म आइपुगेको हो ।

पूर्व विद्यार्थी समाजको अवधारणा

२०७६ मङ्सिर १४ गते यस विद्यालयमा भएको पूर्व विद्यार्थीहरूको भेलाले मेरो अध्यक्षतामा पूर्व विद्यार्थी समाजको गठन गरेको थियो । शैक्षिक गुणस्तर सुधार निर्देशिका २०७६ अनुसार यस विद्यालयमा पूर्व विद्यार्थी समाज गठन भएको हो ।

विद्यालयको शैक्षिक गुणस्तर बढाउने प्रदेश सरकारको अवधारणाअनुसार यस विद्यालयमा पूर्व विद्यार्थी समाज गठन भएको म सबैलाई स्मरण गराउन चाहन्छु । यसअघि पनि यस विद्यालयमा भूतपूर्व विद्यार्थीहरू स्वतस्फूर्त रूपमा संगठित भएर भूतपूर्व विद्यार्थी समाज गठन भएको पनि सबैमा जगजाहेर छ ।

जो जसरी संगठित भए पनि विद्यालयको हकहित, शैक्षिक गुणस्तर सुधार र विद्यालयको संस्थागत विकासमा आफूमा भएको ज्ञान, सीप र क्षमताको उपयोग गर्ने सन्दर्भमा पूर्व विद्यार्थीले भूमिका खेल्दै आएका छन् । विद्यालय व्यवस्थापन समिति र शिक्षक अभिभावक संघ काममा सघाउनु, सहजीकरण गर्नु र आफ्नो तर्फबाट सकेको सहयोग गर्नु पूर्व विद्यार्थी समाजको कर्तव्य र दायित्व हो ।

हामीले आफ्नो दायित्व निर्वाह गर्न सक्यौँ कि सकेनौँ भन्ने विषय आजका दिनमा प्रधान भएको छ । यस विषयमा सबैका समान धारणा, विचार र टिप्पणी छैनन् । पूर्व विद्यार्थी समाज त्यसको अपेक्षा पनि गर्दैन । आलोचनात्मक सुझाव र टिप्पणी समाजका लागि प्रेरणा र मार्गदर्शक बन्न सक्छन् ।

यस्तो छ समाजको कार्य समिति
अध्यक्ष सुब्रत न्यौपाने, उपाध्यक्ष ईश्वर घिमिरे र मञ्जु चिमरिया, सचिव राजु धिमाल, सहसचिव आशिष पौडेल, कोषाध्यक्ष झुलन रेग्मी, सदस्यहरु कुन्दन भट्टराई, पवित्रा आचार्य, भीम किसान, झरना दाहाल र प्रवीन पौडेल ।

विद्यालयका सम्बन्धमा
विद्यालयको शैक्षिक गुणस्तर वृद्धि गर्ने विषयमा सरोकारवाला सबैको उत्तिकै चासो र चिन्ता हुनुपर्छ भन्नेमा पूर्व विद्यार्थी समाज स्पष्ट छ । विद्यालयको शैक्षिक गुणस्तरका विषयमा विभिन्न कोणहरूबाट पटक–पटक प्रश्नहरू उठेको सन्दर्भ पनि समाजको सूचना भन्दा बाहिर छैन ।

विद्यार्थी संख्या घटेको, विद्यालय प्रशासन र शिक्षकहरूबीच समन्वय अभाव देखिएको, विद्यालय व्यवस्थापन समितिको काम प्रभावकारी र रचनात्मक बनाउन अपेक्षाकृत सहयोग हुन नसकेको लगायतका विषय सबैका माझ जगजायर भएकै छ । अझ पूर्व विद्यार्थी समाजको निष्क्रियताका कारण विद्यालयमा बेथिति बढेको भन्नेसम्मका गुनासा सुनिएकै विषय हुन् ।

यसले पूर्व विद्यार्थीको भूमिका रचनात्मक र प्रभावकारी हुनुपर्छ भन्ने विषयमा आम अभिभावक र शुभेच्छुकहरूको गरेको अपेक्षा हाम्रा लागि पनि गौरवको विषय हो । यद्यपि, हामी नीतिगत रुपमा प्रश्न उठाउन, विद्यालय सुधार योजनामा सघाउन, विद्यार्थीको पठनपाठनलाई नियमित र गुणस्तरीय बनाउन आफ्नो तर्फबाट सहयोग गर्न सधैं तयार छौँ ।

नियमित विद्यालय सञ्चालनको प्रक्रियामा सबैका आफ्ना भूमिका र दायित्व छन् । त्यसको पूर्णपालना गर्न सकियो भने मात्रै उत्तरहरूको मेलो बन्छ । अन्यथा प्रश्नहरूको चाङ मात्रै प्राप्त हुने हो । पूर्व विद्यार्थी समाज उत्तरहरूको मेलोको लाइनमा छ । हामी एकले अर्कालाई दोष देखाएर होइन, हाम्रो भागमा परेको गल्ती कमजोरी सुधार्न तयार छौँ ।

नेतृत्वका हिसाबले लिनुपर्ने कयौं जिम्मेवारी हुनसक्छन्, तर एकले अर्कालाई देखाउने र आफ्ना कमजोरीबाट मुक्त हुने प्रयास विद्यालय सञ्चालनका लागि असामान्य विषय हो । सबैको उत्तिकै साथ सहयोग र समर्थन रह्यो भने मात्रै कुनै पनि नेतृत्व सफल हुनसक्छ । नेतृत्व मूल खम्वा हो । अरु सहायक खम्वाहरु हुन् । सहायक खम्वा कमजोर भयो भने नेतृत्वले मात्रै भारी थाम्न सक्दैन् ।

स्वार्थ अनुकूलका गुट, तिनले बनाउने योजना र आरोप प्रत्यारोपको परिस्थितिले कैयौँ विद्यालयहरूको शैक्षिकस्तर कमजोर र धराशायी भएको स्थितिबाट हामीले पनि पाठ सिक्न जरुरी छ ।

गुरुहरूको सम्मान
शिक्षण अभ्यासमा लामो समय जीवन समर्पित गरेका गुरुहरूको सम्मान हुनुपर्छ भन्ने हाम्रो धारणा हो । सम्मान फगत औपचारिकतामा मात्र होइन, हाम्रो बोली, व्यवहार र सिद्धान्तमा पनि हुनुपर्छ भन्ने मान्यता पूर्व विद्यार्थी समाजले स्थापित गर्न चाहेको छ ।

पूर्व विद्यार्थी समाज स्थापना भइरहँदा हामीले २०७६ माघ ९ गते हाम्रो विद्यालयमा कार्यरत मात्रै होइन, छिमेकी विद्यालयका शिक्षकहरुलाई समेत दोसल्ला ओडाएर उहाँहरूको कदर गर्ने अवसर जुराएका थियौँ ।

हामीले यस विद्यालयका पूर्व प्रधानाध्यापक लालप्रसाद सापकोटा जो दिवंगत भइसक्नुभएको छ, सहित शिक्षकहरू भगिरथ सुवेदी, नरबहादुर मगर, लक्ष्मीप्रसाद लुइटेल, गंगाबहादुर कार्की र ऋषिराज पराजुलीलाई सम्मान गरिसकेका छौं ।

यो अधिवेशनका अवसरमा सेवा निवृत्त भइसक्नुभएका शिक्षक लोहितप्रसाद चापागाई र मीरा पोखरेललाई सम्मान गर्न लागेका छौँ । आगामी दिनमा विद्यालयका उत्कृष्ट प्रतिभालाई पनि सम्मान गर्दै लैजाने पूर्व विद्यार्थी समाजको नीति रहेको छ ।

विद्यालयमा न्यानो कपडा वितरण
आर्थिक रूपमा विपन्न समुदायका बालबालिकालाई न्यानो कपडा वितरण गर्ने अभियानमा समेत पूर्व विद्यार्थी समाजले योगदान गरेको छ । यस विद्यालयमा अध्ययनरत १७५ जना विद्यार्थीलाई समाजले स्वीटर लगायतका न्यानो कपडा वितरण गरेको थियो । यसका लागि शिक्षा बहुउद्देश्यीय सहकारी संस्थाले २५ थान स्वीटर निःशुल्क उपलब्ध गराएको थियो ।

यो अभियानमा राष्ट्रिय कलाकारका रुपमा स्थापित यस विद्यालयका पूर्व विद्यार्थी सरोज ओली, बैदेशिक रोजगारीमा रहेका पूर्व विद्यार्थी समाजका सदस्यहरु योगराज खनाल, टेकेन्द्र डाँगी, दिनेश कार्की लगायतका साथीहरुको सहयोग पनि कम छैन् । सबैलाई म हार्दिक धन्यवाद व्यक्त गर्दछु ।

उपचार सहयोग
पूर्व विद्यार्थी समाजले यस विद्यालयमा अध्ययन गरेका विद्यार्थीलाई उपचारमा समेत सहयोग गर्दै आएको छ । विभिन्न रोगको सङ्क्रमणसँग जुधिरहेका सहपाठी, जुनियर वा सिनियर जे हुन्, उनीहरूको उपचारमा सकेको सहयोग गर्दै आएका छौं । समुदायले सञ्चालन गरेको किरण बचाउ अभियानमा ११ हजार र रुजा बचाउ अभियानमा सात हजार हामीले समाजका तर्फबाट सहयोग उपलब्ध गरेका छौँ ।

भावी योजना
समाजको विधान निर्माण गरी पूर्व विद्यार्थी समाजलाई सरकारी निकायमा दर्ता गर्नु पर्ने पहिलो आवश्यकता देखिएको छ । यसबाट स्रोत साधन जुटाउन, व्यवस्थापन गर्न र विद्यालयको शिक्षण अभ्यासमा सहयोग गर्न मद्दत पुग्छ । समाजका तर्फबाट कोष निर्माण गरी त्यसबाट आएको व्याज परिचालन गर्न सकियो भने संस्था आर्थिकरुपमा थप मजदूत हुन्छ । यसका लागि पनि समाजले पहलकदमी अगाडि बढाएको छ ।

चुनौतीहरू
विद्यालयको शैक्षिक जागरण अभियानमा पूर्व विद्यार्थी समाजलाई जोडेर लैजाने विषय आफैँमा सकारात्मक र परिणाममुखी काम हो । तर, विभिन्न पेशामा छरिएर रहेका पूर्व विद्यार्थीलाई संगठित गरेर उनीहरूको ज्ञान, सीप तथा क्षमतालाई विद्यालयको हितमा प्रयोग गर्नु आफैँमा कठिन विषय हो ।

यद्यपि, यो अभियानमा जेनतेन सुरु भएको प्रयास भोलिका दिनमा अझै परिस्कृत र परिणाममुखी हुनेछ भन्ने अपेक्षा गर्न सकिन्छ । आ–आफ्ना पेशा व्यवसायको व्यस्तता, समयमा समन्वय र सहजीकरणको अभाव लगायतका कतिपय चुनौतीले समाजको कामलाई गतिशील र प्रभावकारी बनाउन समस्या पनि भएको छ ।

यसलाई आत्मसात गर्दै आगामी दिनमा पूर्व विद्यार्थी समाजको भूमिकालाई अझै व्यवस्थित र फराकिलो बनाउने मामिलामा सरोकारवाला सबैको रचनात्मक सहयोग रहनेछ भन्ने अपेक्षा राखेको छु । यो भेलाले आगामी कार्यकालका लागि नयाँ नेतृत्व चयन गर्दै समाजलाई अगाडि लिएर जानेछ भन्ने आशा र अपेक्षा पनि छ । आफ्नो कार्यव्यस्तताका बावजुद यो भेलामा सहभागी सबैलाई म हार्दिक आभार व्यक्त गर्दछु ।

(पूर्व विद्यार्थी समाज कविशिरोमणि माविको प्रथम वार्षिक साधारणसभामा अध्यक्ष सुब्रत न्यौपानेद्वारा प्रस्तुत प्रतिवेदन)

प्रकाशित मिति : २८ पुस २०८०, शनिबार ००:००  ७ : ३२ बजे