१५ बैशाख २०८२, सोमबार | Mon Apr 28 2025

सिक्किममा तेस्रो सन्तान जन्माउनेलाई मासिक १० हजार भत्ता



झापा-सिक्किम राज्य सरकारले जनसंख्या वृद्धिका लागि दम्पत्ति प्रोत्साहन अभियान सुरु गरेको छ । सिक्किमले राज्य तहबाटै जनसंख्या वृद्धिका लागि दम्पत्तिलाई प्रोत्साहित गरिरहेको हो ।

केही समययता मृत्यदुर बढेको आँकलनका बीच सरकारले जनसंख्या वृद्धिका लागि राज्य नियन्त्रित प्रोत्साहन नीति लागू गरेको छ । २०२० को आँकडा अनुसार सिक्किमको मृत्यदुर प्रतिहजारमा ४.१ छ । यसअघि मृत्युदर ५.१ थियो ।

सन् २०२० मा सिक्किमको जन्मदर प्रति हजारमा १५.६ रहेको छ । दम्पत्तिले एउटा मात्र सन्तान जन्माउन थालेपछि भविष्यमा जनसंख्या अभावमा राज्यलाई पर्ने दीर्घकालिन प्रभावलाई ध्यानमा राखेर सिक्किमले प्रोत्साहन नीति लिएको हो ।

सिक्किमका मुख्यमन्त्री प्रेमसिंह गोलेले जनसंख्या वृद्धिका लागि सरकारले ‘हम दो हमारे तीन’ नीति अवलम्वन गरेको बताए । सात हजार ९७ वर्ग किलोमिटरमा फैलिएको सिक्किम जनसंख्या र भूगोलका दृष्टिले भारतको सबैभन्दा सानो राज्य हो ।

पछिल्लो तथ्याङ्क अनुसार सिक्किमको जनसंख्या ६ लाख ७१ हजार सात सय २० छ । जनसंख्या बढाउँदै लैजाने नीति अनुसार सिक्किम सरकारले दोस्रो सन्तान जन्माउने दम्पत्तिलाई मासिक पाँच हजार रुपैयाँका दरले आर्थिक सहयोग गर्छ ।

तेस्रो बच्चा जन्माउने दम्पत्तिले मासिक १० हजार रुपैयाँ सरकारबाट सहयोग प्राप्त गर्छन् । तिनको रेखदेख, शिक्षा र स्वास्थ्यका क्षेत्रमा पनि राज्य सरकारले सहयोग गर्ने नीति लिएको मुख्यमन्त्री गोले बताउँछन् ।

सरकारी कर्मचारी दम्पत्तिले बच्चा जन्माउँदा नानीको हेरचाह गर्नेलाई मासिक पाँच हजार दिने नीति पनि राज्य सरकारको छ । जनसंख्या वृद्धिको अभियानसँगै राज्य सरकारले ‘मेरो रुख मेरो सन्तति’ कार्यक्रम पनि लागू गरेको छ ।

क्षेत्रीय विधायक तथा मन्त्री लोकनाथ शर्मा बालबालिकाको नाममा सरकारले रुख रोपिदिने नीति लिएको बताउँछन् । ‘नानी जन्मिएपछि वन विभागमा रजिष्ट्रेसन गर्नुपर्छ’, मन्त्री शर्माले भने, ‘सरकारले रजिष्ट्रेसन भएका नानीका नाममा १०८ विरुवा रोपिदिन्छ ।’

विरुवाको संरक्षण हुने गरी रोप्नु पर्छ भन्ने अवधारणा अन्तरगत ‘मेरो रुख मेरो सन्तति’ कार्यक्रम लागू गरिएको मन्त्री शर्माले बताए । जलवायु परिवर्तन भइरहेकाले जंगल संरक्षण गर्नुपर्छ भन्नेमा सरकार सचेत रहेको उनले उल्लेख गरे ।

प्रकाशित मिति : १४ भाद्र २०८०, बिहिबार ००:००  ११ : ०२ बजे