२३ बैशाख २०८१, आइतबार | Sun May 5 2024

बिर्तामोडका कुष्ठ प्रभावितलाई सामग्री हस्तान्तरण



बिर्तामोड- बिर्तामोड नगरपालिका स्वास्थ्य शाखाले कुष्ठ प्रभावितलाई स्वयम् हेरचाह सम्बन्धी अभिमुखीकरण प्रदान गर्दै सामग्री हस्तान्तरण गरेको छ ।

बुधबार नगर अस्पतालमा आयोजित कार्यक्रमका बीच कुष्ठ प्रभावितलाई सचेतना प्रदान गर्दै स्वास्थ्य सरसफाईका लागि सामग्री वितरण गरिएको हो । ३० जना कृष्ठ प्रभावितलाई नगर प्रमुख पवित्रा महतारा प्रसाईले सामग्री हस्तान्तरण गरेकी हुन् ।

सरसफाईका लागि औषधि, बाटा, मग, जुत्तामोजा लगायतका सामग्री हस्तान्तरण गरिएको थियो । सिनियर अहेव दीपक सापकोटाका अनुसार प्रभावितलाई दुई घण्टाको अभिमुखीकरण समेत प्रदान गरिएको थियो ।

जिल्लाको उच्च जोखिम रहेको बिर्तामोड नगरपालिकामा बालबालिकामा समेत कुष्ठरोग फेला परेको छ । बालबालिकामा रोग देखिएपछि समुदायमा फैलावट धेरै भएको जनाइएको छ ।

स्वास्थ्य शाखाले समुदायसम्म पुगेर कुष्ठरोग संक्रमितको खोज पड्तालसँगै उपचारमा सहजीकरण गरिरहेको छ । उक्त कार्यक्रममा नगर प्रमुख महतारा प्रसाईले सरसफाईमा विशेष ख्याल गर्न आग्रह गरेकी छन् ।

नगर प्रमुखले कुनै समस्या भए तत्कालै नगर अस्पताल आएर उपचारमा सहयोग लिन सुझाव दिएकी छन् । नागरिकको स्वास्थ्य सेवामा नगरपालिका प्रतिवद्ध रहेको उनको भनाई छ ।

प्रकाशित मिति : १३ बैशाख २०८१, बिहिबार ००:००  ३ : २४ बजे