१५ बैशाख २०८१, शनिबार | Sat Apr 27 2024

साहित्य चौतारीको अध्यक्षमा देवीभक्त श्रेष्ठ चयन



बिर्तामोड– साहित्य चौतारी झापाको नयाँ नेतृत्व चयन भएको छ । चौतारीको विधान अनुसार बुधबार नयाँ नेतृत्व चयन भएको हो ।

आगामी तीन वर्षे कार्यकालका लागि संस्थापक संरक्षक देवीभक्त श्रेष्ठ अध्यक्ष रहने गरी साहित्य चौतारीको नयाँ नेतृत्व चयन भएको निर्वाचन समितिका संयोजक राजेन्द्र संग्रौलाले बताए ।

यसअघि हस्त परियारको नेतृत्वमा रहेको साहित्य चौतारीको कार्यकाल गत साता सकिएको थियो । अघिल्लो समितिको कार्यकाल सकिए लगत्तै चौतारीको नेतृत्व छानिएको हो ।

रजत वर्षकाे अवसरमा प्रकाशन हुने स्मारिका, साहित्य चौतारीको जग्गा खरिद तथा भवन निर्माण लगायतका महत्वपूर्ण दायित्वका कारण संस्थापक संरक्षककाे नेतृत्वमा कार्यसमिति चयन गरिएको निर्वाचन समितिका सदस्य एवम् सल्लाहकार अनिरुद्ध ओलीले बताए ।

संग्रौलाको संयोजकत्वमा गठित निर्वाचन समितिमा कृष्ण पौडेल र भवानी क्षेत्री पनि सदस्य थिए । नयाँ नेतृत्व चयन भएसँगै बुधबारदेखि संरक्षक श्रेष्ठले कार्यभार सम्हालेका छन् ।

हिकोला हेरिटेजमा आयोजित समारोहका बीच समितिका संयोजक संग्रौलाले नवनिर्वाचित अध्यक्ष श्रेष्ठलाई पद तथा गोपनीयताको शपथ गराएका छन् । अध्यक्ष श्रेष्ठले कार्यसमितिका पदाधिकारी तथा सदस्यहरूलाई शपथ ग्रहण गराएका छन् ।

निर्वाचन समितिका अनुसार चौतारीको वरिष्ठ उपाध्यक्षमा संस्थापक संरक्षक उर्मिला बिमली चयन भएकी छन् । कला तर्फको उपाध्यक्षमा हिम्मत नेम्बाङ छानिएका छन् ।

संगीत उपाध्यक्षमा शान्ता पौडेल चयन भएकी छन् भने महासचिवमा भानुभक्त सुवेदी छानिएका छन् । सचिवमा गौरव श्रेष्ठ र सहसचिवमा जीवन जगदीश धिताल चयन भएका छन् ।कोषाध्यक्षमा भवानीप्रसाद गौतम र सहकोषाध्यक्षमा कृष्णकुमार श्रेष्ठ रहेको जनाइएको छ । सदस्यहरूमा चित्रा पौडेल, सुनिता तामाङ, गोमा बिमली, मनिषा भट्टराई गोपाल दाहाल, धनकुमारी दमाई, टीका भट्टराई र कल्पना भट्टराई चयन भएका छन् ।

नवनिर्वाचित अध्यक्ष श्रेष्ठले पदभार ग्रहण गर्दै सल्लाहकार समिति पनि चयन गरेका छन् । सल्लाहकार समितिको संयोजकमा राजेन्द्र संग्रौला छन् भने सदस्यहरूमा अनिरुद्र ओली, हरिनारायण भट्टराई, हस्त परियार, भवानी क्षेत्री र शेरबहादुर थापा रहेका छन् । कानुनी सल्लाहकारमा वरिष्ठ अधिवक्ता टंक उप्रेतीलाई राखिएको छ ।

प्रकाशित मिति : १० माघ २०८०, बुधबार ००:००  ८ : ३४ बजे