१४ मंसिर २०८०, बिहिबार | Fri Dec 1 2023

कोसी प्रदेश सरकारबाट बाहिरिने एमालेको तयारी



झापा-नेकपा एमाले कोसी प्रदेश सरकारबाट बाहिरिने भएको छ । मुख्यमन्त्री केदार कार्कीले सहमतिविपरीत सरकार विस्तार गरेपछि एमाले मन्त्रिपरिषद्बाट बाहिरिने मनस्थितिमा पुगेको हो ।

शुक्रवार मुख्यमन्त्री कार्कीले माओवादी र एकीकृत समाजवादीका तर्फबाट दुई जनालाई मन्त्री नियुक्त गरेका छन् । त्यसप्रति असन्तुष्टि जनाउँदै एमाले आफ्ना मन्त्रीहरुलाई सरकारबाट फिर्ता बोलाउने तयारीमा लागेको हो ।

सम्भवत शनिवार एमालेले आफ्ना मन्त्रीलाई फिर्ता बोलाउनेछ । एमालेले मन्त्री राम रानालाई राजीनामा गराउने तयारी अगाडि बढाएको हो ।

राना असोज २७ गते मुख्यमन्त्रीमा कार्की नियुक्त भएसँगै मन्त्री भएका थिए । उनलाई अहिलेसम्म कुनै मन्त्रालयको जिम्मेवारी दिइएको थिएन ।

माओवादी र एकीकृत समाजवादीलाई सरकारमा ल्याएपछि आफूहरु बसिरहनु उयपुक्त नभएको एमाले कोशी प्रदेशका प्रमुख सचेतक रेवतीरमण भण्डारीले बताए ।

मुख्यमन्त्री कार्कीले भने आफूले सहमतीय सरकार बनाउने प्रयास गरेको बताएका छन् । उनले पूर्वमुख्यमन्त्री हिक्मत कार्कीकै एजेण्डा अनुसार सहमतीय सरकार बनाउन माओवादी र एकीकृत समाजवादीलाई सरकारमा सहभागी गराएको जिकिर गरेका हुन् ।

नेकपा एमालेका सांसदको समर्थनमा मुख्यमन्त्री नियुक्त भएका कार्कीले माओवादी केन्द्रबाट गणेश उप्रेती र एकीकृत समाजवादी पार्टीबाट कमलप्रसाद जवेगूलाई मन्त्री नियुक्त गरेपछि कोसी प्रदेशको सत्ता समीकरणले नयाँ रुप लिन लागेको हो ।

मुख्यमन्त्री कार्की सहमतीय सरकार बनाउने प्रयास गर्दा एमाले आफैंले बनाएको सरकारबाट बाहिरिन्छ भन्ने नसोचेको बताउँछन् । शुक्रवार मन्त्रीलाई सपथ गराउने कार्यक्रममा अनुपस्थित भएर नेकपा एमालेले सरकारविस्तारप्रति असन्तुष्टिको संकेत दिएको हो ।

प्रकाशित मिति : १७ कार्तिक २०८०, शुक्रबार ००:००  ७ : ३९ बजे