बिर्तामोड-झापाको बिर्तामोडस्थित बीएण्डसी मेडिकल कलेजका सञ्चालक दुर्गा प्रसाईले भागवत गीता आफ्नो गाइड लाइन भएको बताएका छन् । आइतवार आफ्नै अस्पतालमा आयोजित पत्रकार सम्मेलनमा प्रसाईले आफू बाल्मिकी बन्ने पक्षमा रहेको बताएका हुन् ।
उनले गणतान्त्रिक व्यवस्थाका कारण जनताले झन् ठूलो दुःख पाएको बताए । उनले वर्तमान राजनीतिक व्यवस्थालाई चुनौति दिँदै अब व्यवस्था फेर्न लाग्ने घोषणा गरे । उनले मुलुकलाई २०४६ साल चैत २६ गते अघिको अवस्थामा लैजानु पर्ने धारणा राखेका छन् ।
फागुन १ मा उनले मेचीबाट अभियान चलाउँदैछन् । चर्चित मेडिकल उद्यमी प्रसाईले काँकरभिट्टाबाट सुरु हुने ‘नागरिक बचाउ महाअभियान’ मा राष्ट्र, राष्ट्रियता, धर्म, संस्कृतिको विषयलाई उठाउन खोजेका छन् ।
उनी हिन्दू राष्ट्रको पक्षमा दृढतापूर्वक उभिएका छन् । अभियानमा दुई लाख मानिस सहभागी हुने उनको अनुमान छ । उनले अभियानको उद्घाटनका लागि पूर्व राजा ज्ञानेन्द्र र राजपरिवारका सदस्यलाई पनि निमन्त्रणा दिइएको बताए ।
तामाको नौमुखे दीयो बालेर मेची पुलबाट सोमवार सुरु हुने महाअभियान महाकालीमा पुगेर मात्र टुंगिने उनले बताए ।
हिजो माओवादी जनयुद्ध हुँदै कुनै बेला प्रचण्डका प्रियपात्र प्रसाई अहिले एमालेको राजनीतिमा छन् । तर, पत्रकार सम्मेलनमा उनले जुनसुकै बेला एमाले छोड्ने बताए । समयले माग्यो भने एमालेमा नरहन सक्छु’, पत्रकार सम्मेलनमा उनले भने ।
पत्रकार सम्मेलनमा उनले बैँक तथा वित्तिय संस्थाविरुद्ध आक्रोस व्यक्त गरे । उनले २० लाख रुपैयाँभन्दा कम ऋण राज्यले मिनाहा गरिदिनु पर्ने माग गरेका छन् ।
उनकै शब्दमा विभिन्न बैँक तथा वित्तिय संस्थाबाट प्रसाईले ६ सय करोड ऋण लिएका छन् । अहिलेसम्म आफूले व्याज तिरेको तर कतै कालोसूचीमा नपरेको उनले बताए ।