बिर्तामोड-होटल हिकोला हेरिटेजले शुक्रवार झापाको भद्रपुर विमानस्थलमा आन्तरिक पर्यटक तथा एयरलाइन्सका कर्मचारीलाई स्वागत सम्मान गरेको छ ।
पर्यटन प्रवद्र्धनमा आफ्नो तर्फबाट थप रचनात्मक प्रयास गर्ने अठोटसहित हिकोलाले होटलको तेस्रो वार्षिकोत्सवको अवसरमा स्वागत सम्मान गरेको हो ।
यसअघि बिहीवार होटलले भारतीय सीमावर्ती नाका काँकडभिट्टामा भारत र बंगलादेशबाट भित्रिने पर्यटकलाई बाजागाजासहित स्वागत गरेको थियो । होटलको वार्षिकोत्सव विशेष सांगीतिक प्रस्तुतिसहित सञ्चालन भइरहेको छ ।
वार्षिकोत्सवको पहिलो दिन बिहीवारराति गायक यम बरालको एकल गायन भएको छ । नेपाल र भारतका कलाकर्मी समेतको सहभागितामा गायक बरालले आफ्नो प्रस्तुति राखेका छन् ।
होटल व्यवसायको क्षेत्रमा आन्तरिक तथा बाह्य पर्यटनले महत्व राख्ने भएकाले पाहुनाको सम्मानका लागि आफूहरु सधैँ तयार रहेको होटल हिकोला हेरिटेजका सञ्चालक देवीभक्त श्रेष्ठले बताए ।
साहित्य चौतारीको टोलीसहित विमानस्थल पुगेका श्रेष्ठले पाहुना र एयरलाइन्सका कर्मचारीलाई पालैपालो सम्मान गरेका छन् ।
कार्यक्रममा होटलका प्रवन्धक गौरव श्रेष्ठ, साहित्य चौतारीका संरक्षक उर्मिला विमली, साहित्यकारहरु देवीचरण भण्डारी, कृष्ण निराकार, मासिक सांगीतिक काव्यसभाकी संयोजक सुनिता तामाङ लगायतको सहभागिता थियो ।