बिर्तामोड- जिल्ला प्रहरी कार्यालय झापाले फरार दुई जना अपराधीलाई पक्राउ गरेको छ । अदालतले दोषी ठहर गरेका झापाको दमकका जनकलाल ठाकुर र मोरङ उर्लावारीका असित धिमाल पक्राउ परेका हुन् ।
अदालतको फैसला कार्यान्वयनका लागि खटिएको प्रहरी टोलीले उनीहरुलाई पक्राउ गरेको झापा प्रहरीका प्रवक्ता डीएसपी खगेन्द्रप्रसाद लामिछानेले बताए ।
सवारी ज्यान मुद्दाका अभियुक्त ठाकुरलाई झापा जिल्ला अदालतले २०७३ मंसिर ७ गते दुई वर्ष कैद र दुई हजार रुपैयाँ जरिवानाको फैसला सुनाएको थियो । उनी लामो समयदेखि फरार थिए ।
धिमाल लागूऔषध मुद्दाका अपराधी हुन् । उनलाई अदालतले २०७६ जेठ १९ मा आठ महिना कैद सजाय र २२ हजार रुपैयाँ जरिवानाको फैसला सुनाएको थियो ।