बिर्तामोड-राष्ट्रिय प्रजातन्त्र पार्टीले मंसिर ६ र ७ गते झापाको बिर्तामोडमा प्रदेशस्तरीय प्रशिक्षण आयोजना गर्ने भएको छ । राप्रपाको प्रदेश समितिले कार्यकर्ता प्रशिक्षण आयोजना गरेको हो ।
बिहीवार बसेको राप्रपाको बैठकले प्रदेशस्तरीय प्रशिक्षणको आवश्यक व्यवस्थापकीय काममा जिल्ला समितिले सघाउने निर्णय गरेको छ । पूर्वराजा ज्ञानेन्द्र शाहको झापा आगमनलाई समेत ध्यानमा राखेर राप्रपाले प्रशिक्षण आयोजना गरेको हो ।
मंसिर ९ गते पूर्वराजा शाह झापाको बिर्तामोड आउँदैछन् । त्यसको पूर्व सन्ध्यामा राप्रपाले आफ्ना नेता कार्यकर्तालाई बिर्तामोडमा जमघट गराउन चाहेको छ ।
केन्द्रीय अध्यक्ष राजेन्द्र लिङ्देन समेतको उपस्थितिमा भएको बैठकले नवीन राप्रपा कार्ययोजना २०८० कार्यान्वयनको समिक्षा पनि गरेको छ ।
बैठकले झापाका सबै पालिकाबाट मंसिर ९ को कार्यक्रममा व्यापक जनसहभागिता जुटाउने गरी कार्यकर्ता परिचालन गर्न निर्देशन दिएको छ ।