७ आश्विन २०८०, आइतबार | Mon Sep 25 2023

गौ हत्याको विरोधमा झापाको बिर्तामोडमा प्रदर्शन



झापा-धार्मिक अभियन्ताहरुले हिन्दू धर्म माथिको बढ्दो आक्रमण र गौ हत्याको विरोधमा सोमवार झापाको बिर्तामोडमा प्रदर्शन गरेका छन् । गौ हत्या गरी सनातन बैदिक परम्परामाथि प्रहार गर्न थालिएको भन्दै उनीहरु विरोधमा उत्रिएका हुन् ।

जातिय संस्कृति र परम्परामाथि श्रृङ्खलावद्ध रुपमा भइरहेको आक्रमण स्वीकार्य नहुने भन्दै धार्मिक अभियन्ताहरु धर्म परिवर्तन र गौ हत्याविरुद्ध संगठित रुपमा सडकमा आएका छन् ।

ओमकार परिवारको आयोजनामा झापाको बिर्तामोडमा गौ हत्याविरुद्ध प्रदर्शन भएको हो । सामाजिक सद्भावसहितको कार्यक्रममा किँरात र मारवाडी समुदायले पनि सहभागिता जनाएका छन् ।

एउटा समुदायले अर्को समुदायको जातिय संस्कार र परम्परामा धावा बोल्न नहुने सन्देशसहित आफूहरु सडकमा आएको स्वामी अच्युत प्रपन्नाचार्यले बताए ।

कतिपय ठाउँमा गौ हत्या भएका समाचार आइरहँदा सनातन हिन्दु परम्पराका अनुयायीको मन कुँडिएको छ । राष्ट्रिय जनावरका रुपमा सूचीकृत भएको गाईलाई मार्नु अपराध हुने उनीहरु बताउँछन् ।

धर्म निरपेक्षताको आडमा गौ हत्यामा संलग्नलाई कार्वाही नगर्ने राज्य संरक्षित नीति त होइन भन्ने प्रश्न पनि उठेको जनजाति कल्याण आश्रमका महासचिव प्रेम थुलुङको तर्क छ ।

गौ माताका रुपमा पूजिने गाईलाई मार्न दिने हो भने राष्ट्रिय जनावरको रुपमा सूचीकृत गर्नुको कुनै अर्थ नहुने धार्मिक अभियन्ताको साझा निष्कर्ष छ ।

प्रलोभनमा पारेर धर्म परिवर्तन गराउने र सनातन धर्मलाई होच्याउने जो कोहीप्रति आफूहरु कडारुपमा प्रस्तुत हुने अर्जुनधारा जलेश्वरधामका प्रमुख अर्चक अग्निप्रसाद सिग्देलले बताए ।

आपसी सद्भाव र भाइचारा कायम राख्ने अभियानमा आफूहरु लामो समय लागेको स्मरण गर्दै उनीहरुले बढ्दो हस्तक्षेपविरुद्ध सडकमा उत्रिनु परेको बताएका छन् ।

ओमकार परिवारका प्रवक्ता लक्ष्मीप्रसाद खतिवडा राज्यले पनि प्रलोभनमा धर्म परिवर्तन गराउने र गाई मार्ने माथि कार्वाही नगर्ने हो भने त्यसविरुद्ध कडारुपमा उत्रिन बाध्य चेतावनी दिन्छन् ।

हिन्दु धर्मको रक्षा र गौ वंशको संरक्षणका लागि आफूहरु जस्तोसुकै आन्दोलन गर्न तयार रहेको संकेतसहित सडकमा आएका धार्मिक अभियन्ता र अनुयायीहरुले संविधानमा भएको व्यवस्था कार्यान्वयन गर्ने दायित्वबाट पन्छिए अबको आन्दोलन सरकारविरुद्ध लक्षित हुने चेतावनी दिएका छन् ।

प्रकाशित मिति : १८ भाद्र २०८०, सोमबार ००:००  १० : ०४ बजे