झापा- नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरो (सिआइबी) ले ६० किलो सुन तस्करीको प्रस्थान बिन्दुमै पुगेर अनुसन्धान गर्न लागेको छ । सिआइबीले एसएसपी दिनेश आचार्यलाई हङकङ पठाएर अनुसन्धान गर्न लागेको हो ।
नेपाल प्रहरीका केन्द्रीय प्रवक्ता डिआइजी कुबेर कडायतले सुन तस्करी अनुसन्धानमा सघाउने उद्देश्यले सिआइबीले एसएसपी आचार्यलाई हङकङ पठाउने निर्णय भएको बताए ।
उनले भने, ‘थप सूचना संकलन गर्नुपर्ने भयो । यही सिलसिलामा एसएसपीलाई हङकङ पठाउने निर्णय भएको छ ।’ ६० किलो सुन तस्करीको बिगिनिङ प्वाइन्ट (सुरुवाती बिन्दु) हङकङ हो ।
तर, हङकङ प्रशासनले अपेक्षाकृत सहयोग नगरेपछि समन्वय गर्न सिआइबीले एसएसपी आचार्यलाई मंगलबार राति पठाएको छ ।
गत २ साउनमा हङकङबाट जहाज हुँदै आएको सुन त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलस्थित भन्सार कार्यालयबाट निस्किने क्रममा बरामद भएको थियो ।
सुन राजस्व अनुसन्धान विभागले बरामद गरे पनि अहिले घटनाको अनुसन्धान सिआइबीले गरिरहेको नयाँ पत्रिका दैनिकमा खबर छ ।