१५ बैशाख २०८१, शनिबार | Sat Apr 27 2024

पत्रकार बाँस्तोलालाई मार्ने धम्की दिइएकोप्रति पेशागत संगठनको आपत्ति



बिर्तामोड–पत्रकारका पेशागत संगठनले पत्रकार टीकाराम बाँस्तोलालाई ज्यान मार्ने धम्की दिइएकोप्रति आपत्ति प्रकट गरेका छन् । नेपाल पत्रकार महासंघ, प्रेस चौतारी झापा र प्रेस सेन्टरले मंगलवार अलग–अलग विज्ञप्ति निकालेर धम्कीको भत्र्सना गरेका हुन् ।

बिर्तामोड डटकमका सञ्चालक बाँस्तोलालाई बिर्तामोडका गणेश गिरीले तथानाम गाली गर्दै ज्यान मार्ने धम्की दिएको नेपाल पत्रकार महासंघ झापाका सचिव डिकेश लामाले बताए । उनका अनुसार बाँस्तोलाले ‘अफ्रिका पठाइदिने भन्दै लाखौँ ठगी गर्ने बिर्तामोडका गिरी पक्राउ’ शीर्षकको समाचार प्रकाशित गरेका थिए ।

गणेशका छोरा अञ्जेश गिरी काठमाडौँबाट पक्राउ परेको समाचार देशव्यापीरुपमा सञ्चारमाध्यममा प्रकाशित भएको थियो । सोही समाचारको विषयमा गिरीले मार्ने धम्की दिएको पत्रकार बाँस्तोला बताउँछन् ।

पत्रकारलाई धम्कीमाथि कडा कार्वाही गर्न पेशागत संगठनले माग पनि गरेका छन् । पत्रकारको सुरक्षामा संवेदशनशील हुन र दोषीलाई कार्वाही गर्न स्थानीय प्रशासनको ध्यानाकर्षण गराइएको छ ।

प्रकाशित मिति : २७ मंसिर २०८०, बुधबार ००:००  ८ : १४ बजे