१५ बैशाख २०८१, शनिबार | Sat Apr 27 2024

सामाजिक सेवासँगै वाणिज्य संघको यात्रामा गोमा भट्टराई



बिर्तामोड- झापाको बिर्तामोडमा रहेर सामाजिक संघ संस्थाहरुमा सक्रियतापूर्वक जिम्मेवारी निर्वाह गर्ने अगुवा महिला गोमा भट्टराईको यात्रा अब बिर्तामोड उद्योग वाणिज्य संघमा हुने निश्चित भएको छ । फागुन १४ गते हुने निर्वाचनमा उनी जनसम्पर्क उपाध्यक्षका उम्मेदवार बनेकी छन् । भट्टराईको लोकप्रियता र चर्चाले उनलाई वाणिज्य संघको यात्रामा सफल बनाउने आशा गरिएको छ ।

बिर्तामोडमा रहेर पुस्तक व्यवसायमा स्थापित भट्टराई यस क्षेत्रकै अगुवा महिला नेतृ हुन् । नेतृत्व सीप भएकी उनी वाणिज्य संघ प्रवेशमा महिला भएर मात्र होइन, नेतृत्व गर्न योग्य पात्र भएकै कारण निर्वाचनमा अग्रसर भएकी हुन् ।

जनसम्पर्क उपाध्यक्ष भट्टराईलाई आम व्यवसायीहरुले विजयको शुभकामना दिइसकेका छन् । हक्की स्वभाव, प्रस्ट वक्ता एवम् नेतृत्वदायी क्षमता भएकी उनलाई व्यवसायीहरुले वाणिज्य संघको कार्यसमितिमा हेर्न चाहेका छन् ।

व्यवसायी जीवनमा सफल भट्टराईले यसअघि निर्वाह गरेका जिम्मेवारीका कारण उनको लोकप्रियता बलियो छ । ‘म झट्ट वाणिज्य संघको उम्मेदवार बन्न आएको होइन, वर्षौदेखि निरन्तर काममा छु । अनुभव र क्रियाशीलताका कारण वाणिज्य संघको उम्मेदवार बनेको हुँ ।

व्यवसायीका सानादेखि ठूला समस्याहरुसँग जानकार उनी व्यवसाय जीवनमा महिलाका चुनौतिबारे अझ पोख्त छिन् । महिलालाई आर्थिक रुपमा सक्षम बनाउन आफैँ नेतृत्व गरेर दर्जनौँ अभियानहरु सञ्चालन गर्ने भट्टराईले सामाजिक सेवामा आफ्नो उपस्थितिलाई बाक्लो बनाउँदै आएकी छन् ।

स्वतन्त्र व्यवसायिक प्यानलबाट उम्मेदवार बनेकी उनले २९ बुँदे प्रतिवद्धता पूरा गर्ने बताएकी छन् । मेरो अलग्गै काम, योजना भन्ने हुँदैन । हामीले गरेका प्रतिवद्धताहरु नै मेरो काम र योजनाभित्र पर्छ, उनले थपिन । महिलाहरुलाई सक्षम बनाउन आर्थिक जीवनलाई बलियो बनाउनुपर्ने उनको धारणा छ । त्यसका लागि व्यवसायसँग जोड्ने, उद्यमी बनाउन प्रेरित गर्ने थप योजना उनको छ ।

महिला उद्यमी संघ झापाको संस्थापक अध्यक्ष, लेडी जेसीजमा महासचिव, नेपाल उद्योग तथा व्यवसायी महासंघमा आवद्ध भएर काम गरेको अनुभवले भट्टराईलाई नेतृत्वका लागि तिखारेको छ । उनले सयपत्रीको आयात रोक्न काम गरेको अनुभव सुनाइन् ।

कृषिमा युवाहरुलाई जोड्ने योजनाका साथ काम गरिरहेकी उनले विभिन्न मेला महोत्सवमा सेल रोटी पकाउने, स्थानीय परिकारको बजारीकरणमा नेतृत्व गरेकी थिइन् । खाना महोत्सव लगायतका विभिन्न स्थानीय खानपानको संरक्षण र प्रवद्र्धन गर्ने अभियानमा क्रियाशील भट्टराईले वाणिज्य संघको नेतृत्वमा रहेर अझ धेरै काम गर्ने योजना रहेको बताइन् ।

व्यापारीहरुका समस्याहरुसँगै व्यवसाय क्षेत्रमा सहयोग गर्न नयाँ योजना निर्माण गर्ने, मुद्धाहरु स्थापित गर्ने उनको योजना छ । महिला सहभागितालाई बढाएर जाने, वाणिज्य संघमा संविधान बमोजिम महिलाको सहभागिता हुनेपर्ने माग भट्टराईले अघि सारेकी छन् । वाणिज्य संघको नेतृत्वमा आएर व्यापारका लागि महिलाहरुलाई सहजीकरण गर्ने बताइन् ।

प्रकाशित मिति : १३ फाल्गुन २०८०, आइतबार ००:००  २ : ३५ बजे