२७ जेष्ठ २०८०, शनिबार | Sun Jun 11 2023

काेसी प्रदेश सरकारलाई दिएको समर्थन फिर्ता लिन माओवादीलाई कांग्रेसको दबाब



झापा– नेपाली कांग्रेसले काेसी प्रदेशमा एमाले नेतृत्वको सरकारलाई दिएको समर्थन फिर्ता लिन नेकपा माओवादी केन्द्रलाई दबाब दिएको छ ।

गठबन्धन दलको मर्म र भावना अनुसार माओवादी चल्नुपर्ने जनाउँदै नेपाली कांग्रेसले औपचारिक रुपमा पत्र लेखेर एमाले नेतृत्वको सरकारलाई दिएको समर्थन अविलम्ब फिर्ता लिन दबाब दिएको हो ।

कांग्रेस कोसी प्रदेश संसदीय दलको बैठकले संघीय गठबन्धन अनुसार सरकार गठनको वातावरण मिलाउनुपर्ने जनाउँदै पठाएको पत्र प्राप्त भएको माओवादी केन्द्र कोसी प्रदेश संसदीय दलका नेता इन्द्रबहादुर आङवाेले बताए ।

संसदीय दलको तर्फबाट नेता उद्धव थापाले नेकपा-माओवादी केन्द्रलाई सरकारबाट बाहिरिन पत्र लेखेका हुन् ।

थापाले पत्रमा भनेका छन्,- ‘नेपाली कांग्रेस कोसी प्रदेश संसदीय दलको मिति २०८०।०२।०४ को निर्णय बमोजिम तपाईँहरुको दलबाट हालको कोसी प्रदेश सरकारलाई दिएको समर्थन फिर्ता गरी गठबन्धन दलहरुको सरकार निर्माण गर्ने वातावरण तय गर्नुहुन आग्रह गर्दछु ।’

नेता आङवाेले नेपाली कांग्रेसको पत्रका विषयमा पार्टी अध्यक्ष पुष्पकमल दाहाललाई जानकारी गराउने बताएका छन् । उनले गठबन्धनको शीर्ष तहमा हुने सहमति र समझदारीलाई माओवादी प्रदेश संसदीय दलले कार्यान्वयन गर्ने जानकारी दिए ।

प्रकाशित मिति : ९ जेष्ठ २०८०, मंगलबार ००:००  ७ : ०६ बजे