बिर्तामोड– पत्रकार सुनिरा मैनालीले झापाका नारी सञ्चार गृहलाई साउण्ड सिष्टम हस्तान्तरण गरेर आफ्नो जन्मोत्सव मनाएकी छन् ।
जन्मोत्सवमा गरिने खर्च कटाएर आफू आवद्ध संस्थाको आवश्यकता महशुस गरी आफ्नै आर्जनबाट साउण्ड सिष्टम प्रदान गरेको पत्रकार मैनालीले बताइन् ।
मैनाली नारी सञ्चार गृहकी पूर्व कार्य समिति सदस्य समेत हुन् । साउण्ड सिष्टम हस्तान्तरण कार्यक्रममा नारी सञ्चार गृहकी अध्यक्ष रेजिना गौतम, निवर्तमान अध्यक्ष भीमा शिवाकोटीसहित कार्यसमितिका पदाधिकारी सहभागी थिए ।
साउण्ड सिष्टम ग्रहण गर्दै संस्थाकी अध्यक्ष गौतमले मैनालीकाे रचनात्मक कामले अरुलाई पनि प्रेरणा मिलेको बताइन् ।सजिलो खबर डटकममा आवद्ध मैनाली एकदशक देखि झापाको पत्रकारितामा क्रियाशील छन् ।
उनले यसअघि नारी सञ्चार गृहले बहुउद्देश्यीय लक्ष्य राखेर स्थापना गरेको अक्षय कोषमा आठहजार आठसय ८८ रुपैयाँ प्रदान गरेकी थिइन् ।
संस्थाले महिला पत्रकारको क्षमता अभिबृद्धिका साथै समग्र महिला, बालबालिका तथा सार्वजनिक सरोकारका विषयमा काम गर्ने उद्देश्य राखेर ५० लाखको अक्षयकोष स्थापना गरि कोष पूर्णताको अभियानमा रहेको अक्षयकोषका संयोजक जोस्ना श्रेष्ठले जानकारी दिइन् ।
कोषमा हालसम्ममा ३९ लाख रुपैयाँ संकलन भएको कोषाध्यक्ष स्वस्तिका आचार्यले बताइन् । सो अवसरमा कार्यसमिति सदस्यहरु दीपा पोखरेल, सञ्जु शिवाकोटी लगायतको उपस्थिति रहेको थियो ।


















