बिर्तामोड– बिर्तामोडबाट मंगलबार दुई जना असहाय तथा बेवारिसे अवस्थामा रहेका व्यक्तिको उद्धार गरी मानव सेवा आश्रम मेचीनगर पठाइएको छ ।
बिर्तामोड नगरपालिका-७ तित्रीडाँगीकी ४२ वर्षीया आलेखा बेगम मिया र कृषिथोक नजिकै कनकाई रोडमा बेवारिसे अवस्थामा भेटिएका ९० वर्षीय गौरीशंकर साहुलाई नगरपालिकाले उद्धार गरेको हो ।
बिर्तामोड नगरपालिकाका कार्यवाहक नगरप्रमुख नगेन्द्रप्रसाद संग्रौलाको नेतृत्वमा नगर प्रहरीसहितको टोलीले दुवै जनाको उद्धार गरेको थियो ।
उद्धारपछि उनीहरूलाई मानव सेवा आश्रमका झापा जिल्ला संयोजक खगेन्द्र विश्वकर्मासहितको टोलीलाई जिम्मा लगाइएको कार्यवाहक नगरप्रमुख संग्रौलाले जानकारी दिए ।
नगरपालिकाका अनुसार मानसिक असन्तुलनका कारण मिया बजार क्षेत्रमा जथाभावी हिँड्ने गरेकी थिइन् । साहु भने कनकाई रोडमा बेवारिसे अवस्थामा भेटिएका थिए ।
कार्यवाहक नगरप्रमुख संग्रौलाका अनुसार बिर्तामोड नगरपालिकाले हालसम्म ३२ जनाभन्दा बढी असहाय तथा बेवारिसे अवस्थामा रहेका व्यक्तिको उद्धार गरी मानव सेवा आश्रम मेचीनगर पठाइसकेको छ ।
मानव सेवा आश्रमका झापा जिल्ला संयोजक विश्वकर्माका अनुसार मेचीनगरस्थित आश्रममा हाल १०८ जना आश्रित छन् ।


















