बिर्तामोड– शिवसताक्षी-४ मा सञ्चालित झापा इनर्जी लिमिटेडको १० मेगावाट क्षमताको सौर्य विद्युत् आयोजना पूर्ण क्षमतामा सञ्चालनमा आएको छ । इन्भर्टरमा देखिएको प्राविधिक समस्या मर्मत गरेपछि कम्पनीले पूर्ण क्षमतामा विद्युत् उत्पादन थालेको हो ।
आयोजनामा ५/५ मेगावाट क्षमताका दुईवटा इन्भर्टर जडान गरिएका छन् । तीमध्ये एउटा इन्भर्टरमा समस्या आएपछि केही समयदेखि आयोजनाको विद्युत् उत्पादन प्रभावित भएको थियो ।
कम्पनीले इन्भर्टरको मर्मतसम्भार सम्पन्न गरी साउन २५ गतेदेखि आयोजनाबाट जडित पूर्ण १० मेगावाट क्षमतामा विद्युत् उत्पादन सुरु भएको जनाएको छ ।
झापा इनर्जीका महाप्रबन्धक सरोज श्रेष्ठले नेपाल स्टक एक्सचेन्ज, नेपाल धितोपत्र बोर्ड र सीडीएस एन्ड क्लियरिङ लिमिटेडलाई पठाएको पत्रमा मर्मतपछि आयोजनाको विद्युत् उत्पादन पूर्ण क्षमतामा फर्किएको जानकारी गराएका छन् ।
इन्भर्टरमा आएको समस्याका कारण उत्पादन क्षमतामा आएको कमी हटेसँगै अब आयोजनाले नियमित रूपमा १० मेगावाट क्षमतामा विद्युत् उत्पादन गर्ने कम्पनीले जनाएको छ ।


















