काठमाडौं-नेकपा एमालेले पूर्वराष्ट्रपति विद्यादेवी भण्डारीलाई पार्टीको वरिष्ठ नेता बनाउने तयारी गरेको छ । भण्डारीलाई वरिष्ठ नेताको जिम्मेवारी दिने प्रस्ताव सचिवालय बैठकबाट अघि बढाउने र त्यसलाई केन्द्रीय कमिटीबाट अनुमोदन गराउने तयारी रहेको एमाले स्रोतले जनाएको छ ।
भण्डारीलाई पार्टीमा पुनः सक्रिय गराउने प्रक्रिया यसअघि नै सुरु भइसकेको थियो । गत जेठमा बसेको एमाले सचिवालय बैठकले पूर्वराष्ट्रपति भण्डारीलाई पार्टी सदस्यता दिने निर्णय गरेको थियो । त्यससँगै लामो समयदेखि रोकिएको उनको सक्रिय राजनीतिको बाटो खुलेको थियो ।
राष्ट्रपति पदमा निर्वाचित भएपछि भण्डारीले सात वर्षभन्दा बढी समय सक्रिय दलीय राजनीतिबाट बाहिर रहेकी थिइन् । राष्ट्रपति पदबाट बाहिरिएपछि भने उनी पुनः एमाले राजनीतिमा फर्किन चाहेको सार्वजनिक रूपमा बताउँदै आएकी थिइन् ।
यसअघि एमालेले पूर्वराष्ट्रपति दलीय राजनीतिमा फर्कन नहुने तर्क गर्दै उनको पार्टी सदस्यताको विषय रोकेको थियो । एमालेको तत्कालीन केन्द्रीय कमिटीले राष्ट्रपतिको पद देशको अभिभावकीय र गरिमामय भूमिका भएकाले पूर्वराष्ट्रपति पुनः कुनै दलको सदस्य वा नेता बन्नु उपयुक्त नहुने निष्कर्षसमेत निकालेको थियो ।
तर, पार्टीको राजनीतिक समीकरण बदलिँदै गएपछि एमालेले आफ्नै अघिल्लो निर्णय उल्ट्याउँदै भण्डारीलाई सदस्यता दिने निर्णय गरेको हो । भण्डारीको सदस्यता नवीकरणसँगै एमालेभित्र नेतृत्व पुनर्गठन र आगामी शक्ति समीकरणबारे बहससमेत चर्किएको थियो ।
गत फागुनको निर्वाचनपछि एमालेले पार्टीको अवस्था र निर्वाचन परिणामको समीक्षा अघि बढाएको थियो । त्यसपछि पार्टी सदस्यता विस्तार तथा संगठन पुनर्संरचनाको प्रक्रिया अघि बढाइयो । यही क्रममा भण्डारीलाई पनि पार्टीको औपचारिक संरचनामा पुनः सक्रिय गराउने बाटो खुलेको हो ।
भण्डारीलाई वरिष्ठ नेताको जिम्मेवारी दिने निर्णय कार्यान्वयन भए एमालेभित्र उनको भूमिका औपचारिक रूपमा स्थापित हुनेछ । त्यसले पार्टीको आगामी संगठनात्मक संरचना र नेतृत्व व्यवस्थापनमा उनको भूमिकालाई समेत संस्थागत गर्नेछ ।
एमालेमा पछिल्लो समय नेतृत्व पुनर्गठन, सांगठनिक संरचना तथा स्थायी कमिटी र पोलिटब्युरो गठनका विषयमा छलफल चलिरहेको छ । असोज ८ गतेको सचिवालय बैठक पनि केन्द्रीय कमिटी बैठककै बीचमा बसेको हो । बैठकमा सांगठनिक विषयसँगै स्थायी कमिटी र पोलिटब्युरो गठनबारे छलफल भइरहेको एमाले नेताहरूले बताएका छन् ।



















