८ आश्विन २०८३, बिहिबार | Thu Sep 24 2026

वर्षाको जोखिम : बिर्तामोडका विद्यालय शुक्रबार बन्द



बिर्तामोड– सम्भावित भारी वर्षासँगै बाढी, डुबान र अन्य विपद्को जोखिम बढ्न सक्ने आँकलन गर्दै बिर्तामोड नगरपालिकाले शुक्रबार नगर क्षेत्रका सामुदायिक तथा संस्थागत विद्यालयमा पठनपाठन बन्द गर्ने निर्णय गरेको छ ।

जल तथा मौसम विज्ञान विभागको मौसम पूर्वानुमानअनुसार असोज ९ देखि ११ गतेसम्म कोशीसहित देशका विभिन्न क्षेत्रमा भारीदेखि अति भारी वर्षाको सम्भावना छ ।

वर्षासँगै नदी तथा खोलामा पानीको बहाव बढ्ने, डुबान, कटान, पहिरो तथा सडक अवरोध हुनसक्ने जोखिम रहेको भन्दै सम्बन्धित निकायले उच्च सतर्कता अपनाउन आग्रह गरेका छन् ।

सम्भावित जोखिमलाई मध्यनजर गर्दै नगरपालिकाले शुक्रबार विद्यालय बन्द गर्ने निर्णय गरेको जनाएको छ ।

विशेषगरी वर्षाका कारण विद्यार्थी, शिक्षक तथा कर्मचारीको विद्यालयसम्मको आवतजावतमा समस्या आउन सक्ने तथा बाटोमै बाढी, डुबान वा अन्य मौसमजन्य जोखिममा पर्न सक्ने अवस्थालाई ध्यानमा राखेर बिदा दिइएको नगरपालिकाको भनाइ छ ।

यसअघि शिक्षा तथा खेलकुद मन्त्रालयले पनि बुधबार शिक्षा विकास तथा समन्वय एकाइमार्फत स्थानीय तहसँग समन्वय गरी आवश्यकताअनुसार असोज ८ र ९ गते विद्यालय बिदा गर्न आग्रह गरेको थियो ।

मन्त्रालयले भारी वर्षाका कारण बाढी, पहिरो, डुबान, नदी कटान, सडक अवरोध तथा विद्युत् र सञ्चार सेवामा समेत असर पर्न सक्ने भन्दै विद्यार्थी, शिक्षक, अभिभावक र शैक्षिक संस्थालाई पूर्वतयारी तथा सतर्कता अपनाउन आग्रह गरेको छ ।

मन्त्रालयले सुरक्षित विद्यालय भवनलाई आवश्यक परेको अवस्थामा विपद् प्रभावितका लागि अस्थायी आश्रयस्थलका रूपमा प्रयोग गर्न स्थानीय तहसँग समन्वय गर्नसमेत भनेको छ । साथै, अभिभावकलाई वर्षाका बेला बालबालिकालाई नदी, खोला, पोखरी तथा पहिरोको जोखिम भएका स्थानमा जान नदिन आग्रह गरिएको छ ।

झापासहित कोशी प्रदेशमा बिहीबारदेखि वर्षाको सम्भावना रहेको र असोज ९ गते भारीदेखि अति भारी वर्षा हुनसक्ने पूर्वानुमान गरिएको छ । वर्षाका कारण पहाडी क्षेत्रमा पहिरो तथा नदी–खोलामा पानीको बहाव बढ्न सक्ने भएकाले सतर्कता अपनाउनुपर्ने अवस्था रहेको मौसमसम्बन्धी सूचनामा उल्लेख छ ।

बिर्तामोड नगरपालिकाले पनि विद्यालय बन्द गर्नुको मुख्य उद्देश्य पठनपाठन रोक्नु नभई सम्भावित विपद्को समयमा विद्यार्थी, शिक्षक, कर्मचारी तथा अभिभावकको आवतजावतबाट हुनसक्ने जोखिम घटाउनु र सुरक्षालाई प्राथमिकता दिनु रहेको जनाएको छ ।

शुक्रबारपछि शनिबार र आइतबार नियमित बिदा रहेकाले विद्यालयको नियमित पठनपाठन सोमबारदेखि मौसमको अवस्था र स्थानीय जोखिमलाई समेत ध्यानमा राखेर सञ्चालन हुने अपेक्षा गरिएको छ ।

प्रकाशित मिति : ८ आश्विन २०८३, बिहिबार ००:००  १२ : ५९ बजे